धार्मिक पर्यटनको लागि नयाँ गन्तव्य बन्दै पाथीभरा दिव्य धाम

संवाददाता
२०८१ फाल्गुन २९, बिहीबार २०:५८

हेटौंडा । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका ८ छत्रेडाँडामा अवस्थित पाथीभरा दिव्य धाममा भक्तजनहरुको आगमन बढेसंगै अर्को धार्मिक पर्यटनको लागि नयाँ गन्तव्य थपिएको छ । मन्दिर क्षेत्रमा ढकमक्क लालि गुँरासको फूल फुलेसैगै त्यहाँ जाने भक्तजनको संख्या पनि बढेको छ ।सबै भक्तजनहरु पथिभारा देवीको र्दशनको लागि तप्लेजुङमा रहेको पाथिभरा मन्दिरमा पुग्न नसक्ने भएकाले सबैलाई सहजहोस भनि पञ्चकन्या पाथिभरा देवी छत्रेडाँडामा पनि अवतरण भएको मन्दिरका संरक्षक तथा पुजारी पाथीभरा दास दिपकको भनाई छ ।स्थापना भएको कम समयमै धार्मिक पर्यटन र प्रकृतिसंग रमाउन सकिने स्थानको रुपमा पनि परिचित हुन थालेको छ त्यो स्थान । माता पाथीभरा भगवतीको स्थापना पश्चात पुजन, हवन, स्तोत्रपाठ, तर्पन, मार्जन, उहाकै आज्ञ अनुसार गरिदै आएको पुजारीको भनाई छ । पाथिभरा देवीको दर्शन गर्नाले आँटेका र चिताएका सबै मनोकामना पुरा हुने गरेको विस्वासका साथ भक्तजनहरु पाथीभरा मन्दिरमा आउने गर्दछन् । माता पाथिभरा देवीलाई बली चढाउनु पर्दैन तर उहाँको गणहरुलाई भने बली दिने चलन रहेपनि यस धाममा दीप प्रज्वलन, त्रीशुल, घण्टी, पुलपाती र फलफुल चढाउने गरिन्छ । तप्लेजुङ स्थित पाथिभारा माताको मन्दिरमा सबैजना पुग्न असम्भव रहेकोले तप्लेजुङमा पुग्न नसक्नेहरुले यहिको मन्दिरमा दर्शन गर्दा पनि मनोकामना पुरा हुने र स्थापनाको कम समयमै धेरै भक्तजनहरुको भाकल पुरा भएको पुजारीको भनाई छ ।सुन्दर प्रकृतिको काखमा खेल्दै रमाउँदै त्यहाँ पुग्नुको मज्जा छुट्टै छ । पाथीभरा दिव्य धाम छत्रे डाँडा क्षेत्रलाई ट्रेकिङ पर्यटन क्षेत्रको रुपमा विकास समेतगरि पर्यटकलाई आकर्षण गराउन सकेमा त्यस क्षेत्रलाई बिश्वकै चर्चित धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिन्छ । अहिले त्यस स्थानमा घुम्न र दर्शनको लागि आउने भक्तजनहरुको संख्यामा दिनानु दिन बृद्धि हुँदै गएको छ । समुन्द्री सतहबाट २१४१ मिटर उचाईमा अवस्थित उक्त धाम क्षेत्रमा अहिले राताम्य लाली गुँरासका फूलहरु फुलेको, चिसो मौसम, सुन्दर वनजंगल, मनमोहक हिमालको दृश्यावलोकन आदिले गर्दा उक्त स्थानमा पुग्ने जोकोहीले खुलेरै प्रशंसा गरेका छन । पाथीभरा दिव्यधाम क्षेत्रमा प्रकृति संगै अध्यात्मको आनन्द पनि लिन पाएकोमा निक्कै खुसी लागेको काठमाडौ बौद्ध निवासी ज्ञानु लामाले बताउनु भयो ।

कसरी भयो स्थापना ?

सपनामा देखाईएको पञ्चकन्या पाथीभरा देवीको शिला

मकवानपुर जिल्ला मकवानपुरगढी ५ निवासी दिपक सिंह रुम्बाको सपनामा २०८० बैशाख ११ गते रातिदेखी २० दिनसम्म हरेक रात छत्रेडाँडामा जाउ त्यहाँ जमिन भित्र पञ्चकन्याको प्राकृतिक शिला र ढुंगामा सिंहको आकृती छ त्यसलाई खनेर बाहिर निकाल्नु संगै रहेको ठुलो गुफा भित्र छत्रेश्वर बाबाको शिला छ त्यसलाई पनि बिधिवत पुजा गर्नु अनि अरुलाई पनि प्रचार गर्नु भनेर दिएको बताउनु भयो । रुम्बाले पुर्ण रुपमा आस्तिक नरहेकोले बारम्बार सपनामा देखाउँदा पनि बिश्वास नगरेपछि कहिले आँखा बन्द हुने, कहिले हात नचल्ने, कहिले बोली बन्द हुने, कहिले कान बन्द हु्ने र कहिले खुट्टा नचल्ने भएपछि मर्नु भन्दा बौलाउनु बेस भन्दै खोज्न हिँडनु भएको बताउनु भयो । सबैलाई थाहा दिएमा सपनाको कुरा बिपनामा खोजेको भन्दै पागल भन्ला भन्ने डरले सोही क्रममा २०८० साल चैत्र २४ गते दिदी र भिनाजु साथमा लिएर उक्त स्थानमा गई खनेर हेर्दा सपनामा जस्तै पञ्चकन्यको शिला, सिंहको आकृति र गुफा भित्र छत्रेश्वर महादेवको शिला भेटेपछि स्थानीय गाउँलेहरु सहित गुफामा प्रबेश गरेर सरसफाई गरेर २०८१ साल बैशाख १ गतेबाट बिधिवत रुपमा स्थानीयहरुले समेत पुजा सुरु भएको रुम्बाको भनाई छ ।

छत्रेश्वर महादेव शिलाकसरी जान सकिन्छ ?

मकवानपुरको सदरमुकाम हेटौंडाबाट प्राकृतिक सुन्दरताले भरिएको पाथीभरा दिव्य धाम छत्रेडाँडामा जाने बाटोहरु धेरै भएपनि सहज र सुरक्षित यात्राको लागि बिशेषत २ ओटा बाटो प्रयोग गर्न सकिनेछ ।

पहिलो बाटो

हेटौडाबाट सामारी पुल, भैँसेबाट दायाँ तर्फको बाटो अर्थात भीमफेदी जाने बाटो जाने, पान्द्राङ पुगेपछि पुलबाट दायाँ तर्फ पुलबाट इक्चुङको बाटो उकालो लाग्ने, इक्चुङ हुँदै हावा भञ्ज्याङसम्म सवारी साधनमा जान सकिन्छ भने त्यहाँबाट दक्षिण तर्फको डाँडामा चढ्ने करिब १–२ घण्टाको पैदल यात्रा पछि पुगिन्छ ।

दोस्रो बाटो

हेटौंडा–चौघडा–शिखरकटेरी–गैरीभञ्ज्याङबाट बाँया कच्ची रोड जाने–बाँसपानी–सुकौरा–खुडेधार–बुढिचौर– हावा भञ्ज्याङसम्म सवारी साधनमा जान सकिन्छ भने त्यहाँबाट दक्षिण तर्फको डाँडामा चढ्ने करिब १–२ घण्टाको पैदल यात्रा पछि पुगिन्छ ।

पैदलयात्रीको लागि कत्तिको सहज छ बाटो ?मन्दिरमा आउने भक्तजनको सहजताको लागि मकवानपुरगढी ८ नं. वडा कार्यालयको सहयोगमा हावा भञ्ज्याङदेखि मन्दिरसम्म १ मिटर फराकिलो बाटो उकालोमा सिँढी सहितको निर्माण गरिरहेको छ । सबै उमेर समुहको भक्तजनको लागि लक्षित गर्दै छड्के छड्के गरेर कम उकाले पारेर बाटो निर्माण गरेको छ । हालसम्म करिब ८० प्रतिशत बाटो निर्माण सम्पन्न भईसकेको छ ।

मेला तथा पूजा बिशेष

प्राकृतिक सुन्दरताले भरिएको पाथीभरा दिव्य धाममा लाग्ने बिशेष मेलाहरु निम्न छन् ।

पाथीभरा जन्मोत्सबः बैशाख १ गते बिशेष पुजा तथा बिशेष कार्यक्रम

एकादशी मेलाः हरी बोदनी एकादशीको दिन बिशेष पुजा तथा बिशेष कार्यक्रम

नवरात्र बिशेष पुजाः ४ वटै नवरात्रमा बिशेष पुजा

बोलबम यात्राः श्रावण महिना भर छत्रेश्वर महादेवको दर्शन

माता तिर्थ औँशी बिशेष पूजाः आमाको मुख हेर्ने दिन

पछिल्लो समय पाथीभरा दिव्य धाम छत्रेडाँडामा टाढा टाढाबाट पनि भक्तजन आउन सुरु भएको छ । मनमोहक दृश्यावलोकन गर्दै मनै आनन्दीत तुल्याउने र स्वर्गको अनुभुती दिलाउने ठाउँ हो पाथिभरा मन्दिरको काख । त्यहाँसम्म पुग्ने सहज बाटो तथा खानेपानी र बस्ने व्यवस्थामा ध्यान दिन सके आन्तरिक पर्यटक मात्र होईन बाह्य पर्यटकलाई पनि लोभ्याउन सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*