हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु

हेटौँडा – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौँडा अस्पतालले आजदेखि मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको छ। अस्पतालको सेवा उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गरेका हुन।
विगत केही समयदेखि यो सेवा सुरु गर्नको लागि अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव र अन्य प्राविधिक समस्याका कारण चुनौतीहरू आएका थिए। तर, हालै टिचिङ अस्पतालमा अध्ययनरत मुटु रोग विशेषज्ञ डाक्टर विकेश श्रेष्ठको उपलब्धता पछि आजबाट यो सेवा प्रभावकारी रूपमा सुरु गरिएको हो।
यो सेवा सञ्चालनसँगै हेटौँडा अस्पतालले मुटु रोगका लागि थप उन्नत स्वास्थ्य सेवा प्रदान गर्न सक्षम भएको छ, जसले गर्दा रोगीलाई अब भरतपुर वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ।
मुख्यमन्त्री लामाले कार्यक्रममा बोल्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार पूर्ण रूपले प्रतिबद्ध रहेको जनाए। उनले प्रदेश सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई उन्नत बनाउन विशेष प्राविधिक र जनशक्ति व्यवस्थापनमा काम गरिरहेको बताए।
यसका साथै, प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि विभिन्न संघ र संस्थासँग मिलेर काम गरिरहेको जानकारी दिए। उनले हेटौँडा अस्पतालमा कार्डियो सेवा र क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि दातृ संस्थासँग साझेदारी गर्ने तयारी पनि गरिरहेको उल्लेख गरे।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदीप ज्ञवालीले अस्पतालको सेवा विस्तारमा निरन्तरता र सुधार महत्त्वपूर्ण भएको बताए। उनले अस्पतालका विशेषज्ञ डाक्टरलाई २ वर्षसम्म टिकाउन नीतिगत रूपमा काम गर्न आवश्यक रहेको बताएका छन्।
साथै, अस्पताल र प्रतिष्ठान बीचको विवाद समाधान गर्न प्रशासनिक कार्यलाई एकद्वार बनाउने तयारी भइरहेको र बजेट व्यवस्थापनमा सुधार गर्नुपर्ने कुरामा जोड दिएका छन्।
प्रदेश सरकारको आगामी योजना अनुसार, अस्पतालमा कार्डियो सेवा र क्याथ ल्याब निर्माणका लागि आवश्यक बजेट र साधन व्यवस्थापन गरिने जनाइएको छ।