हेटौंडामा जबरजस्ती करणी गरेको आरोपमा सात जना किशोर पक्राउ
हेटौंडा। हेटौंडामा जबरजस्ती करणी गरेको आरोपमा सात जना किशोर पक्राउ परेको छ । हेटौंडा उपमहानगरपालिका –२ स्थित वनस्खण्डी मन्दिर नजिकको जंगलमा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सात जना किशोर पक्राउ परेको हो ।
पीडित युवतीले फागुन २१ गते घटनाबारे जाहेरी दिएको प्रहरीले जनाएको छ । उक्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै फागुन २२ गते हेटौंडाका विभिन्न स्थानबाट पाँच जना किशोरलाई नियन्त्रणमा लिइएको थियो। त्यसैगरी, फागुन २३ मा थप दुई जना आरोपीलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरूमाथि जबरजस्ती करणी कसुरमा जिल्ला अदालत मकवानपुरबाट पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा अनुसन्धान जारी रहेको जनाएको छ।











