बिपी मार्गको अस्थायी मर्मत कार्य तीव्र गति सँग, रोशीखोला क्षेत्र प्राथमिकता

संवाददाता
२०८१ फाल्गुन १९, सोमबार १२:३२

रामेछाप गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्गको मर्मत कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ। वर्षा याममा पनि यातायात सञ्चालन सम्भव बनाउनको लागि अस्थायी मर्मत कार्य सुरु गरिएको हो।

सडक डिभिजन कार्यालयले आफ्ना उपकरणहरूको प्रयोग गर्दै मर्मत कार्यको गति बढाएको छ। विशेष गरी, बाढीले प्रभावित रोशीखोला क्षेत्रमा मर्मत कार्यलाई प्राथमिकता दिइएको छ। सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनियर सुदर्शन अधिकारीका अनुसार, लोडर र डोजरको मद्दतले मर्मत कार्य भइरहेको छ।

रोशीखोला क्षेत्रमा खोलाको बहावलाई फर्काउने, ढुङ्गा र बालुवा निकालेर सडकलाई उचाल्ने, बाँध निर्माण गर्ने, ग्याभिनवाल राख्ने र अस्थायी तटबन्धन गर्ने काम तीव्र गतिमा भइरहेको छ। अधिकारीले भने, “वर्षा याममा पनि सडक अवरुद्ध नगर्नका लागि हामी सबै प्रयास गर्दैछौँ।”

बिपी मार्गको रोशी खोला खण्डमा बाढीका कारण ठूलो क्षति भएको छ। सडकको ठूलो हिस्सा बाढीले बगाएको छ, जसका कारण काठमाडौँबाट रामेछाप, सिन्धुली लगायतका क्षेत्रमा यात्रा गर्ने यात्रुहरूलाई कच्ची सडकमा कठिनाइ र जोखिमको सामना गर्नुपरेको छ।

यस मार्गको धुलिखेल नेपालथोक र नेपाथोक खुर्कोट खण्डको अस्थायी मर्मत कार्यको लागि सरकारले २१ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। उक्त बजेटबाट मर्मत कार्यको डिजाइन तयार भइरहेको छ र डिजाइन पूरा भएपछि ठेक्का प्रक्रियामा जाने तयारी गरिएको अधिकारीले जनाएका छन्। “अहिले भइरहेको मर्मत कार्य सडक विभागका आन्तरिक साधन र स्रोतबाट भइरहेको छ,” उनले थपे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*