नगरस्तरीय महिला शिक्षक/ कर्मचारी भलिबल प्रतियोगिता हेटौंडामा

संवाददाता
२०८१ फाल्गुन १५, बिहीबार १८:२५

हेटौंडा – हेटौंडा नगरस्तरीय शैक्षिक समन्वय समितिले महिला शिक्षक र कर्मचारीहरूको लागि मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यो प्रतियोगिता आगामी २०८१ फाल्गुण १६ र १७ गते हेटौंडा स्थित श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा हुने छ।

प्रतियोगिताको उद्घाटन समारोह २०८१ फाल्गुण १६ गते बिहान ८ बजे हुनेछ, जसमा नगरप्रमुख मिना कुमारी लामा प्रमुख अतिथीका रूपमा उपस्थित हुने छन्। पुरस्कार वितरण तथा समापन समारोह २०८१ फाल्गुण १७ गते सम्पन्न हुनेछ।

प्रतियोगितामा विभिन्न विद्यालयका महिला शिक्षक कर्मचारीहरुले प्रतिस्पर्धा गर्नेछन्, जसमा १० वटा विद्यालयहरू सहभागी हुनेछन्। सहभागी विद्यालयहरूमा श्री कृष्ण आधारभूत विद्यालय, सिद्धार्थ माध्यमिक विद्यालय, वंशगोपाल माध्यमिक विद्यालय, भूटनदेवी विद्यालय लगायतका विद्यालय समावेश छन्।

प्रतियोगिता पुरस्कार स्वरूप प्रथम हुने विद्यालयलाई ७,००० रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः ५,००० र ३,००० रुपैयाँ नगद र मेडलको व्यवस्था गरिएको छ। उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र पनि दिइने छ।

समितिका अध्यक्ष श्री भोगेन्द्र लुइटेलले प्रतियोगिता शैक्षिक संस्थाहरू बीचको सम्बन्धलाई सुमधुर बनाउन र शिक्षकहरूको समयको परिपालन, समूह सिपको नेतृत्व र आत्मअनुशासनको विकासमा सहयोग पुर्याउने उद्देश्य राखिएको बताए।

समिति का प्रमुख संयोजक बालकुमार श्रेष्ठले यस प्रतियोगिताले महिला शिक्षकहरूको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षकहरू बीचको सहयोग र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गरे।

नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडा, २०५३ मा स्थापित एक गैर नाफामूलक संस्था हो जसले हेटौंडा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको सुधारका लागि कार्य गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*