नेकपा एमाले महासचिव सँग रुसी कुटनैतिक अधिकारीको भेट

काठमाडौं । विश्व राजनीतिमा हलचल आएसँगै रसियन कुटनैतिक अधिकारीले भेटवार्तालाई तीब्रता दिएका छन् । यसैबीच, नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर – काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेन्डा बारे पनि छलफल गरेको बुझिएको छ ।
भेटपछि दुतावासले विज्ञप्ति जारी गर्दै द्विपक्षीय संवादले एकअर्काको अडान र सम्भावित सहयोगका क्षेत्रहरूको पहिचान गर्न समान बुझाई भएको उल्लेख गरेको छ । नेपाल र रुसबीचको सम्बन्ध औपचारिकतामा मात्र रहेको बेला यो भेटलाई महत्वको साथ हेरिएको छ । नेपाली युवाहरुलाई अवैध रुपमा रुस लगेर सेनामा भर्ति गरेको र युद्धमा होमेको विषयमा रुसले अहिलेसम्म मुख खोलेको छैन । यो काम मानव तस्करले गरेको भनिए पनि औपचारिक रुपमा रुसाले केही बताएको छैन । रुस युक्रेन युद्धमा २० जना भन्दा बढी नेपाली युवाहरुको ज्यान गइसकेको छ ।