हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोशीत

हेटौंडा । हेटौंडालाई आज बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । उपमहानगरपालिकाको ५६ औँ स्थापना दिवस पारेर बालमैत्री नगर घोषणा गरिएको हो ।
मकवानपुरका १० पालिकामध्ये मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका यसअघि नै बालमैत्री पालिका घोषणा भइसकेका छन् । हेटौँडा ने जिल्लाको चौथो पालिकाको रूपमा बालमैत्री घोषणा भएको हो । आज भब्य समारोहका बिचमा नेपाल सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले घोषणा गरेका हुन् ।
कार्यक्रमलाई संबोधन गर्दै उनले निकृष्ट बालश्रम, बालविवाह मुक्त र बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरेर मुलुकका अन्य पालिकाहरुलाई सकारात्मक सन्देश दिन हेटौंडा उपमहानगरपालिका सफल भएको बताए ।
हेटौंडा उपहानगरपालिका ५ पिप्ले क्याम्पा रंगशालामा बिहीबार आयोजित कार्यक्रममा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्दै उपप्रधानमन्त्री सिंहले बालबालिका भविष्यका कर्णधार भएकाले हाम्रा व्यवहार बालमैत्री हुन जरुरी भएको बताए । हेटौंडा उपमहानगर सम्भावना बोकेको पालिका भएकाले यसका गतिविधिहरु बालमैत्री हुन जरुरी रहेको उनको भनाइ थियो ।
उनले बालमैत्री पालिका घोषणा गरेपछि अझ उपमहानगरपालिकाको जिम्मेवारी र दायित्व थपिएको बताए । बिहीबार हेटौंडा उपमहानगरपालिकाको ५६ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा पालिकालाई बालमैत्री घोषणा गरिएको हो । मुलुकभर ११ वटा उपमहानगरपालिका छन् । बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको यो नै पहिलो हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले बालमैत्री पालिका घोषणा गर्न उपमहानगरपालिकाले गरेका कामबारे जानकारी गराएका थिए ।
कार्यक्रममा वाग्मती प्रदेशका कावा मुख्यमन्त्री प्रकाश श्रेष्ठ, संघीय सांसद दीपकबहादुर सिंह, प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामीलगायतले बोलेका थिए । कार्यक्रममा १९ वटै वडाका टोल विकास संस्था, ७ कक्षादेखि ९ कक्षासम्मका छात्रछात्रा, विभिन्न समुदायका बासिन्दा आ–आफ्ना भेषभुषा र झाँकीसहित र्यालीमा सहभागी भएका थिए । हेटौंडाको बुद्धचौकबाट पिप्ले क्याम्पा रंगशालासम्म र्याली निकालिएको थियो ।