हेटौँडामा “हाम्रो घर बालगृह”को अक्षयकोष स्थापनार्थ आजबाट महायज्ञ सुरु

संवाददाता
२०८१ फाल्गुन १, बिहीबार १९:४१

हेटौँडा । ग्रामिण जीवनस्तर मञ्चले हेटौँडा उपमहानगरपालिका वडा नंबर–५ मा संचालन गर्दै आईरहेको “हाम्रो घर बालगृह”को अक्षयकोष स्थापनार्थ आजबाट हेटौँडामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको सुरुवात भएको छ ।

२०६५ सालबाट संचालनमा आईरहेको बालगृहलाई थप व्यवस्थित र दिगोपन बनाउनको लागि अक्षयकोष स्थापनार्थ सुरु भएको महायज्ञको उद्घाटन गर्दै बागमती प्रदेशका संस्कृती तथा पर्यन मन्त्री विमल ठकुरीले राज्यले गर्नुपर्ने अति महत्वपूर्ण काम सार्वजनिक संघसस्थाले गर्नु नमुना काम भएको भन्दै यस्ताखाले पवित्र कामलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए ।

अविभावकहरुबाट विमुख भएका बालबालिकाको अविभावक भएर हाम्रो घरले समाजमा उदाहरणीय काम गरेको बताउँदै मन्त्री ठकुरीले निकै पवित्र उदेश्य राखेर सुरु गरेको महायज्ञलाई सबै आम नागरिकले दिल खोलेर सहयोग गर्न अनुरोध गरेका छन् ।

२०७० सालबाट आफ्नै भवनबाट सेवा दिईरहेको बालगृहको दिगोपनको लागि महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्दै मन्त्री ठकुरीले आफुले सरकार मार्फत बालगृहलाई सहयोगको लागि आवश्यक पहलकदमी गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

हाल १० बालिका सहित २७ जनाले आश्रय पाईरहेको बालगृहलाई दाताहरुको दानविना संचालन गर्न कठिन हुने भन्दै आफुहरुले पुण्य काम मार्फत अक्षयकोष स्थापनार्थ सप्ताहको आयोजना गरेको संस्थाकी अध्यक्ष इन्दिरा डल्लाकोटी न्यौपानले बताईन् । अहिलेसम्म दुखःसुख गरेर बालगृह संचालन गरेको बताउँदै उनले महायज्ञबाट बालबालिकाको सफल भविष्यको लागि काम गर्नसकिने लक्ष्य लिईएको उनको भनाई रहेको छ ।

उद्घाटनको दिन दानको लागि दाताहरुसँग अनुरोध नगर्दा समेत नगद २० हजार रुपैँया संकलन हुनु शुभ संकेत भएको बताउँदै उनले जिल्लाका सबै स्थानीयतह, जनप्रतिनिधिहरु तथा संघसस्था, उद्योग व्यवसायीका प्रतिनिधिहरुलाई सहयोगको लागि अपिल समेत गरेकी छिन् ।

फागुन ९ गतेसम्म संचालन हुने महायज्ञमा पं रामचन्द्र तिमल्सीनाले प्रमुख कथावाचन गर्नेछन भने उनलाई पं हरिचन्द्र तिमल्सीनाले सघाउने आयोजकले जनाएको छ । महायज्ञ हरेक दिन विहान ७ बजेदेखि रातको ९ बजेसम्म संचालन हुने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा समाजसेजवी सिताराम बर्तौला, महिला उद्यमी मेनका श्रेष्ठ, हेटौँडा लेडी जेसिजकी कार्यकारी उपाध्यक्ष इन्दु बानीया लगाएको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*