८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह ‘ द स्प्राउटिङ स्टोरीज ’ लोकार्पण

निराज रानाभाट
२०८१ माघ २१, सोमबार १५:११

काठमाडौं । आठ वर्षीय आकृति पाण्डेद्वारा लिखित बालकथा संग्रह ‘ द स्प्राउटिङ स्टोरीज ’ को लोकार्पण भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पुस्तक विमोचन गरेका हुन् । संस्कार पब्लिकेसनद्वारा प्रकाशित यस संग्रहमा अंग्रेजी भाषामा लेखिएका ११ वटा बालकथाहरू समेटिएका छन् । कार्यक्रममा मन्तव्य राख्दै मन्त्री बद्रीप्रसाद पाण्डेले यति सानो उमेरमै कथा लेखनमा देखाएको प्रतिभा प्रशंसनीय रहेको बताउँदै लेखिकाको सृजनात्मक क्षमताको प्रशंसा गरे । मन्त्री पाण्डेले साहित्यमा संलग्न व्यक्ति अन्य पेशागत व्यक्तिहरूको तुलनामा कम अपवित्र रहने धारणा राख्दै साहित्य सिर्जना गर्नेहरू भावुक हुने र तिनको भावुकताले समाजलाई असल कार्यतर्फ डोर्याने विचार व्यक्त गरे । साथै, आजको डिजिटल युगमा मानिसको चिन्तन गर्ने क्षमतामा कमी आए पनि कल्पनाशक्ति सशक्त शक्ति भएको भन्दै कल्पनाशीलताको महत्त्वलाई जोड दिएको मन्त्री पाण्डेले बताए ।

यस्तै, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले आकृति पाण्डे एक विशिष्ट प्रतिभा भएकी बताउँदै बालकहरूलाई सही मार्गदर्शन प्रदान गर्न अभिभावक, विद्यालय र समाजको महत्त्वपूर्ण भूमिका हुने विचार राखेका छन् । त्यसैगरी, जय नेपाल फाउन्डेशनका अध्यक्ष बद्री अर्यालले आकृति पाण्डेमा अलौकिक प्रतिभा रहेको र भविष्यमा विशिष्ट साहित्यकार बन्न सक्ने सम्भावना रहेको बताए । त्यस्तै, पुस्तकको समीक्षा गर्दै लेखक शंकर कुमार प्रधानले लेखिकाले कथा लेखनको मापदण्डलाई पछ्याउँदै पात्रहरूलाई न्यायपूर्ण रूपमा प्रस्तुत गरेको टिप्पणी गरे । प्रधानका अनुसार संग्रहमा करुणा, मित्रता, धैर्यता, एकता तथा अरूलाई चित्त नदुखाउने जस्ता सन्देश प्रवाहित गर्ने कथाहरू समेटिएका छन् । प्रधानले कथाहरू रोचक, सन्देशमूलक र मानव जीवनलाई छुने खालका रहेको बताउँदै यी कथाहरू मिहिनेतका साथ तयार पारिएको उल्लेख गरे । यसैगरी, लेखिकाकी पिता अमिन पाण्डेले छोरीको सृजनात्मक क्षमताले आफू गर्वान्वित भएको बताउँदै सानै उमेरदेखि पढ्ने, लेख्ने र चिन्तन गर्ने उनको स्वभावले भविष्यमा अझ उत्कृष्ट कृतिहरू जन्माउने आशा व्यक्त गरे । यस्तै, संस्कार पब्लिकेसनका उपाध्यक्ष शरद श्रेष्ठले समाजलाई गतिशील बनाउँदै समृद्धिको दिशामा लैजान पढ्न मात्र नभई लेख्न पनि आवश्यक रहेको धारणा राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*