सहिद दिवसका अवसरमा सहिदहरूको योगदानको कदर, राष्ट्रिय एकता र लोकतन्त्रको स्थायीत्वको आह्वान

संवाददाता
२०८१ माघ १६, बुधबार १८:३२

हेटौंडा । बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले सहिदहरूको योगदानको उचित कदर गर्दै मुलुकको गणतान्त्रिक प्रजातन्त्रको भविष्यलाई सुरक्षित र सशक्त बनाउन सबैलाई सहिदहरूको संघर्ष र बलिदानको महत्व बुझ्न आवश्यक रहेको बताउनु भएको छ । आज हेटौंडा ११ सहिद स्मारकममा आयोजित सहिद दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै सहिदहरूले राष्ट्रको स्वतन्त्रता र प्रजातन्त्रको पुनःस्थापनाका लागि गरेका संघर्ष र बलिदानको मूल्यलाई सबैले आत्मसात गर्नुपर्नेमा जोड दिनुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले यस अवसरमा राजनीतिक दलहरूलाई जनताको मानव अधिकारको संरक्षण र शान्ति सुनिश्चित गर्नका लागि जिम्मेवार बनाउन आवश्यकता रहेको बताउनु भयो। उहाँले सहिदहरूको संघर्षलाई विस्मृत नगर्न र त्यसबाट मार्गदर्शन लिइ मुलुकको सार्वभौम प्रजातन्त्रको सुदृढिकरण गर्नअपिल गर्नुभयो।

यस्तै कार्यक्रमलाई सम्बोधनगर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पनि सहिदहरूको योगदानको महत्वलाई अवगण गर्ने दलहरूको आलोचना गर्दै, राणा शासनविरुद्धका संघर्षमा उनीहरूले देखाएको बलिदानको मूल्य सधैं कायम राख्नुपर्ने आवश्यकता औंल्याउनु भयो।

सहिद दिवसको अवसरमा बागमती प्रदेशका विभिन्न नेताहरुले सहिदहरूको योगदानलाई सम्झदै, राष्ट्रिय एकता र लोकतन्त्रको स्थायीत्वका लागि सहकार्यको आह्वान गरेका छन्। सभामुख भुवनकुमार पाठक र पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सहिदहरूको योगदानलाई सम्मान गर्न र राष्ट्रको सार्वभौम सत्ता र लोकतन्त्रलाई बलियो बनाउन एकजुट हुनुपर्ने कुरा बताएका छन्।

यस अवसरमा, सहिद स्मारक विकास समितिले हेटौंडामा साहित्यिक कार्यक्रम आयोजना गर्दै, हेटौंडा–२ का निवासी तुलसी घिमिरेलाई श्रीचन्द्र शर्मा स्मृति पुरस्कार र नगद पुरस्कारसहित सम्मानित गरे। घिमिरेले रु २५ हजार नगद पुरस्कार र प्रशंसापत्र प्राप्त गरे।

कार्यक्रममा सहिद स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले सहिद सप्ताहको अवसरमा रक्तदान, साहित्यिक कार्यक्रम र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।

यसअघि, हेटौंडा उपमहानगरपालिकास्थित सहिद स्मारकमा बागमती प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख, प्रदेश सरकारका मन्त्रीहरू लगायतका नेताहरूले पुष्पगुच्छा अर्पण गर्दै सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*