सहिद सप्ताह २०८१ अन्तर्गत विभिन्न कार्यक्रमहरूको आयोजना हुँदै

हेटौंडा, माघ ११– सहिद स्मारक विकास समितिद्वारा आयोजित सहिद सप्ताह २०८१ कार्यक्रम माघ १० (हिजो) बाट सुरु भएको छ। यस कार्यक्रमको औपचारिक शुभारम्भ राष्ट्रिय झण्डोत्तोलन गरेर गरिएको थियो। यस वर्षको सहिद सप्ताहको मुख्य उद्देश्य सहिदहरूको त्याग र बलिदानको सम्मान गर्नु र यो ऐतिहासिक धरोहरलाई जनसमुदाय बीचमा अझ प्रभावकारी रूपमा प्रस्तुत गर्नु हो।
सहिद सप्ताहको पहिलो दिनपछि, माघ ११ (आज) पत्रकार भेटघाट कार्यक्रम आयोजना गरियो। यस अवसरमा पत्रकार महासंघका निर्वाचित प्रदेश र मकवानपुर जिल्ला समितिलाई बधाई र मायाको चिनो प्रदान गरिएको थियो।
सहिद सप्ताहको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरू समेत आयोजना गरिनेछन्। माघ १२ गते सहिद स्मारक परिसरमा सरसफाई कार्यक्रम हुनेछ, जसमा स्थानीय समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहनेछ। माघ १३ गते रक्तदान कार्यक्रम आयोजना गरिनेछ, जसको व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी हेटौंडा शाखाले गर्नेछ ।
माघ १४ गते, हेटौंडा १२ स्थित लखन थापा वाटीका क्षेत्रमा श्रद्धान्जली कार्यक्रम आयोजना हुनेछ, जसको व्यवस्थापन लखन वाटीका व्यवस्थापन समितिले गर्नेछ। माघ १५ गते विभिन्न प्रतियोगिताहरू पनि आयोजना गरिनेछन्, जसमा लोकतन्त्र प्राप्तिका लागि राजनीतिक दलहरूको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता र नगर स्तरीय वाल क्लब तथा शिक्षक दौड प्रतियोगिता प्रमुख आकर्षण हुनेछ।
सहिद सप्ताहको समापन माघ १६ गते वागमती प्रदेश सरकारको समन्वयमा हुने छ, जहाँ प्रभातफेरी, नेपाल प्रहरी र नेपाली सेना द्वारा सहिद प्रति सलामी, पुष्पार्पण र श्रद्धान्जली सभा आयोजना गरिने सहिद स्मारक विकास समिति हेटौंडाका सचिब रघुनाथ खुलालले जानकारी दिनुभयो।
सहिद सप्ताह २०८१ को माध्यमबाट सहिदहरूको योगदान र त्यागलाई समर्पित कार्यक्रमहरू आयोजना गर्दै यसलाई जनसमुदाय बीच अझ बढी प्रचलित र सम्मानजनक बनाउन आफुहरु प्रतिबद्ध रहेको सहिद स्मारक विकास समिति हेटौंडाका अध्यक्ष डोरमणि पौडेलले बताउनु भयो।