मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा रानाभाट

संवाददाता
२०८१ पुष २८, आईतवार १०:१९

हेटौँडा| मकवानपुर उद्योग वाणिज्य संघको ५८औं साधारणसभामा सम्पन्न निर्वाचनमा प्रमोद सिंह रानाभाटको नेतृत्वले जित हासिल गरेको छ। अध्यक्ष पदमा रानाभाटले १,०१४ मत प्राप्त गरेर निकटतम प्रतिस्पर्धी अनिल अग्रवाललाई २४९ मतको अन्तरले हराए।

रानाभाटको नेतृत्वमा रहेको प्यानलले प्रमुख पदहरूमा पनि सफलता प्राप्त गर्‍यो। महासचिव पदमा प्रतिमा श्रेष्ठले १,०१२ मत ल्याएर विकेशलाल श्रेष्ठलाई पराजित गरिन्। कोषाध्यक्ष पदमा तेजराज अधिकारी र सह-कोषाध्यक्ष पदमा निलम वैद्य विजयी भए।

उद्योगतर्फ दीपक उप्रेती, वाणिज्यतर्फ राजु अधिकारी, एसोसियटतर्फ उज्वल चौलागाईं र वस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित भए। महिला सदस्य पदमा सीता देवी भेटवालले मेनुका श्रेष्ठलाई हराइन्।

प्रमोद सिंह रानाभाट लामो समयदेखि व्यवसायिक समुदायमा सक्रिय रहेका छन् र आफ्नो तीन पुस्ताको व्यवसायिक परम्परालाई सफलतापूर्वक अघि बढाइरहेका छन्। उनले आफ्नो यो विजय व्यवसायीहरूको विश्वास र समर्थनको प्रमाण भएको बताए। रानाभाटले संघको गरिमा बढाउने र व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचनमा कुल १,८१६ मत खसेका थियो, जसमा २६ मत बस्तुगत, ८१ एसोसियट, ५५५ उद्योगतर्फ र १,१५४ बाणिज्यतर्फ थियो। यस निर्वाचनले जिल्लामात्र नभई प्रदेशका व्यवसायी र समग्र देशको उद्योग वाणिज्य क्षेत्रमा ठूलो प्रभाव पार्ने संकेत गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*