रोल्पामा पिकअप जीप दुर्घटना, चालकको मृत्यु, ३ बालिकाको अवस्था गम्भीर
रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिका-४ सिमपानीमा पिकअप जीप दुर्घटना भएको छ। जुंगारदेखि दाङ जाने सडक खण्डमा माडी गाउँपालिका-१ पाटी खोला देखि सुन्तला लोड गरी नेपालगंज तर्फ जाँदै गरेको लु १ च ८६८७ नम्बरको पिकअप जीप अनियन्त्रित भई बाटोदेखि करिब २०/२५ मिटर तल खसेको छ।
दुर्घटनामा सवारी चालक माडी गाउँपालिका-१ भित्ताबाङ बस्ने २० वर्षीय हुकुम घर्ति को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिए।
गाडीमा परिचय नखुलेका ३ जना १३/१४ वर्षका बालिकाहरु रहेको र ती बालिकाहरुको अवस्था गम्भीर रहेको बताइएको छ। घटना बारे थप अनुसन्धान जारी छ।