अभिनेता कमलमणी नेपाल बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजको ब्राण्ड एम्बेसडरमा नियुक्त
काठमाडौं । चलचित्र ‘ लाज शरणम् ’ का अभिनेता कमलमणी नेपाललाई बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले व्यवसायिक दूतमा नियुक्त गरेको छ । आज आयोजित समारोहमा समाजका अध्यक्ष दीपक नेपाल र प्रमुख अतिथि तथा चलचित्र ‘ लाज शरणम् ’ को निर्माण कम्पनी जेपिटी क्रिएसनका प्रमुख अर्जुन घिमिरे ‘ पाँडे ’ ले औपचारिक रुपमा नेपाललाई दूतमा नियुक्त गरे । सो अवसरमा भुइँमान्छेहरूको स्वरोजगार अभियानमा चर्चित कलाकार दूतको रुपमा जोडिँदा राज्य समक्ष दुःख, पीडा र गुनासो सहजै पुग्नेमा आफूहरू आशावादी रहेको समाजका सल्लाहकार टोपबहादुर खत्रीले बताए ।
नेपालले अभिनय गरेको पछिल्लो चलचित्र ‘ लाज शरणम् ’ महाशिवरात्री अवसरमा फागुन १४ गते प्रदर्शन तयारीमा छ । चलचित्र ‘ लाज शरणम् ’ मा नेपालले डोल्पाको पिछडिएको गाउँको चरित्रमा अभिनय गरेका छन् । यसबाहेक अभिनेता नेपाल थुप्रै व्यवसायिक चर्चित चलचित्र र टेलिभिजन श्रृंखलामा समेत ब्यस्त छन् ।