उद्योगहरू पुनः सञ्चालन हुन नसक्नु ठूलो विडम्बना हो : सांसद बर्तौला
हेटौडा । नेकपा एमालेका प्रमुख सचेतक र सांसद महेश बर्तौला हेटौडा कपडा उद्योग लामो समयदेखि सञ्चालनमा आउन नसकेकोमा गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ ।
उद्योग संघ मकवानपुरको तेइसौँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले हेटौडा औद्योगिक क्षेत्रमा कपडा उद्योगको सञ्चालनमा लगातार देखापरेको अवरोधप्रति दुःख व्यक्त गर्दै यसलाई समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सांसद बर्तौलाले हेटौडा औद्योगिक क्षेत्रलाई मध्यवर्ती क्षेत्रमा पर्यो भन्दै कपडा उद्योग सञ्चालनमा अवरोध गरिनु उचित नरहेको बताउनुभयो । उहाँका अनुसार, यस क्षेत्रका उद्योगहरू सञ्चालनमा नआउँदा हजारौं स्थानीय जनतालाई रोजगारको अवसरको अभाव भइरहेको, जसले सामाजिक र आर्थिक अवस्था प्रभावित बनाएको उल्लेख गर्नु भयो ।
मकवानपुरका दुई तीन हजार जनतालाई रोजगारीको अवसर दिन सक्ने उद्योगका लागि धेरै प्रयास गर्दा पनि यो सफल हुन सकेको छैन । यो हाम्रो लागि गम्भीर चिन्ता हो । सांसद बर्तौलाले भनुभयो ।
साथै, उहाँले बन्द भएका उद्योगहरूको पुनः सञ्चालनका लागि सबै राजनीतिक दलहरूले एकजुट भएर काम गर्नु पर्ने धारणा राख्नुभयो । उद्योगका फाइलहरू नौ वर्षसम्म घुमिरहे तर कार्यान्वयन नभएको देखिन्छ, जसले देशको औद्योगिक अवस्थालाई धराशायी बनाएको उहाँले बताउनुभयो ।
सांसद बर्तौलाले देशको औद्योगिक विकासको लागि सरकार र राजनीतिक दलहरूको साझा पहलको आवश्यकता भएको भन्दै उद्योगका समस्याहरूलाई प्राथमिकतामा राखेर समाधान गर्ने माग समेत गर्नुभयो ।