गल्ती गरेपछि सडक आन्दोलनमार्फत मुक्ति चाहनु भनेको गलत हो : मन्त्री गुरुङ
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गरेपछि सडक आन्दोलनमार्फत मुक्ति पाइने कुरा नसोच्न आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित भुवो पर्व विशेष कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस किसिमको सोच नकारात्मक रहेको बताएका हुन्।
मन्त्री गुरुङले पूर्वगृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै, “गल्ती गरेको छैन भने न्यायिक छानबिनबाट नतर्सिनुहोस्” भने। उनले न्यायिक छानविन र अनुसन्धानको प्रक्रियामा सहयोग गर्न आग्रह गर्दै भने, “गल्ती गरेको खण्डमा सडक आन्दोलनले मुक्ति दिलाउँछ भन्ने सोच्नु नहुने कुरा हो।”
मन्त्री गुरुङले सहकारीको क्षेत्रमा अनियमिततासम्बन्धी समस्याहरूलाई सम्बोधन गर्दै, ६ हजार वचतकर्ताको रकम सम्पूर्ण रूपमा फिर्ता गरिएको र ८ हजार वचतकर्ताको करिब ७० प्रतिशत रकम फिर्ता गरिएको जानकारी पनि दिए। उनले भने, “२ हजार वचतकर्ताको रकम छानविनको क्रममा रहेको र ५० प्रतिशत रकम फिर्ता गरिएको छ।”
सहकारी क्षेत्रका विकृतिहरूलाई निर्मुल गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उनले सहकारी संरक्षण कोषको स्थापनाका लागि पहल भइरहेको पनि उल्लेख गरे। मन्त्री गुरुङले देशमा विकृति, विसंगति, अन्याय, अत्याचार, असमानता र भ्रष्टाचारको अन्त्यका लागि सरकारले निरन्तर काम गरिरहेको बताए।
“सहकारी क्षेत्रमा भएको भद्रगोल, वचत अनियमितता र अन्य समस्याहरुलाई समाधान गर्न प्रभावकारी प्राधिकरणको गठन गर्ने काममा सरकारले ध्यान केन्द्रित गरेको छ,” उनले भने।