मकवानपुरमा तीन दिने सडक खाना महोत्सब आज सम्पन्न हुँदै

संवाददाता
२०८१ पुष १६, मंगलवार १६:४८

मकवानपुर । मकवानपुर होटेल एसोसिएसनको आयोजनामा र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा गत शनिबार, १३ गतेदेखि तीन दिने सडक खाना महोत्सब हेटौडा उपमहानगरपालिका ४ स्थित हुप्राचौरको पूर्वी सडक खण्डमा आयोजना गरिएको थियो । महोत्सब आज, १५ गते सम्पन्न हुँदैछ । यस महोत्सबमा मकवानपुर होटेल एसोसिएसनका विभिन्न सदस्य होटेलहरुले आफ्ना परिकारका स्टल राखेका छन्, जसमा स्थानीय उत्पादनबाट बनेका विभिन्न प्रकारका स्वादिष्ट परिकारको व्यवस्था गरिएको छ ।

यस महोत्सबमा उपस्थित दर्शक र सहभागीहरुले तीन दिनसम्म सडकमा बसेर स्वादिष्ट खाना चाख्नको लागि सुविधा पाए । सडकमा जाऊँ, सडकमै खाऊँ, र सडकमै रमाऊँ भन्ने मुख्य नारासँगै आयोजना गरिएको यो महोत्सबले सडक खानाको प्रचार र स्थानीय उत्पादनको प्रबर्धनमा महत्वपूर्ण भूमिका निभाएको छ ।

महोत्सबको उद्देश्य स्थानीय उत्पादनबाट बनेका परिकारलाई सर्वसुलभ र सस्तो मूल्यमा स्थानीय नागरिकलाई उपलब्ध गराउनु थियो । यस महोत्सबले टु, थ्री स्टार स्तरका होटेलमा पाइने स्वादिष्ट परिकारलाई सडकमा बसेर चाख्नको लागि अवसर प्रदान गरेको छ, जसले गर्दा यो महोत्सब महत्व बढ्दो छ ।

यस महोत्सबमा ४० भन्दा बढी विभिन्न जातजातिका विशेष परिकारहरु प्रस्तुत गरिएका छन् । त्यसमध्ये, केराको परिकारलाई पनि महोत्सबमा विशेष स्थान दिइएको छ । विभिन्न जातीय संस्कृतिहरूका बिभिन्न स्वादमा तयार पारिएका परिकारले खानाका पारखीहरुका लागि विशेष आकर्षण गरेको छ । साथै, नृत्यप्रेमीहरुका लागि पनि महोत्सबमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ जसले महोत्सबलाई अझ आकर्षक र रमाइलो बनाईरहेको छ ।

सडक खाना महोत्सबको आयोजनाले स्थानीय होटेल उद्योगलाई प्रोत्साहित गर्दै, स्थानीय कच्चा पदार्थको प्रयोगलाई बढावा दिने प्रयास गरेको छ । यो महोत्सब स्थानीय स्तरमा पर्यटन र सांस्कृतिक गतिविधिहरूको समायोजन गर्ने महोत्सबको रुपमा जनमानसमा परिचित बन्दै छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*