मकवानपुरको हेटौंडामा तमु ल्होछार पर्व उत्साहका साथ मनाइयो
मकवानपुरको हेटौंडामा गुरुङ समुदायले आफ्नो नयाँ वर्ष तमु ल्होछारू पर्व धुमधामसँग मनाएका छन्। आज सोमबार हेटौंडा–११ स्थित शहिद स्मारकमा आयोजित एक शुभकामना आदान–प्रदान कार्यक्रममा तमु ल्होछारको पर्वको सम्मान र संरक्षणमा जोड दिइएको थियो ।
कार्यक्रममा गुरुङ समुदायका नेता र अन्य वक्ताहरूले पर्वको सांस्कृतिक महत्त्वलाई जोड दिदंै सरकारको ध्यान आदिवासी जनजातिको विशेष पर्व र सांस्कृतिक धरोहरको संरक्षणमा दिइनु आवश्यक रहेको जनाएका छन् । हेटौंडा उपमहानगरपालिका–३ का वडाध्यक्ष ढलकबहादुर थापाले ल्होछार जस्ता पर्वको मौलिकता जोगाउन र संस्कृति र भाषा बचाउन गुरुङ समुदायलाई सचेत बन्नुपर्ने बताएका छन्।
गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य जंगबहादुर गुरुङले पनि सरकारको ध्यान यस पर्व र आदिवासी जनजातिको हक र सम्मानमा आकर्षित गर्न आग्रह गर्दै, विशेष गरी गुरुङ समुदायका लागि बजेटको उचित विनियोजन आवश्यक रहेको बताए । उनले मकवानपुर जिल्लामा गुरुङ समुदायको अवस्था सुधार गर्न र त्यसको सांस्कृतिक पहिचानलाई सुरक्षित राख्न सबैले एकजुट भएर काम गर्नुपर्ने पनि जोड दिए।
त्यसैगरी, कार्यक्रममा गुरुङ समुदायका विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई सम्मानित पनि गरिएको थियो । सम्मानित हुनेमा शिक्षा, पत्रकारिता, चिकित्सा र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरू थिए।
यस पटक, माधव गुरुङ अक्षयकोषबाट छात्रवृत्ति प्रदान गर्ने समारोह पनि आयोजना गरिएको थियो । छात्रवृत्तिमा मनहरी गाउँपालिकाका करिष्मा गुरुङ, थाहा नगरपालिकाका सुदीप गुरुङ र प्रेरणा गुरुङ, कैलाश गाउँपालिकाका विनुता गुरुङ र विना गुरुङलाई नगद पुरस्कारसहित सम्मानित गरियो ।
गुरुङ समुदायले वि.सं. २०५५ सालदेखि मकवानपुरमा सामुहिक रूपमा तमु ल्होछार पर्व मनाउँदै आएको छ ।