संविधान संशोधनको प्रक्रिया अघि बढाउने सरकारको योजना, ज्येष्ठ नागरिक सेवा केन्द्र उद्घाटन

संवाददाता
२०८१ पुष १३, शनिबार १६:३३

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गर्ने योजना अघि बढाइएको जानकारी दिएका छन्। आज माछापुछ्रे गाउँपालिका–१ टुसेमा नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले संविधानमा आवश्यक संशोधनका लागि समीक्षा प्रक्रिया सुरु गर्ने उल्लेख गरेका हुन्।

मन्त्री गुरुङका अनुसार, संविधान संशोधनका लागि प्रमुख दुई दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरिएको छ, जसको प्राथमिकता संविधान संशोधनको प्रक्रिया अघि बढाउनु हुनेछ। उनले प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिहरूमा विचाराधीन विधेयकहरू शीघ्र अनुमोदन गर्ने योजना रहेको पनि बताए। साथै, रोकिएका विधेयकहरूको मापदण्ड तयार गरी छिटो निर्णय गरिने सरकारको तयारी छ।

सञ्चारमन्त्री गुरुङले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानूनी व्यवस्था पनि चाँडै अघि बढाइने कुरा पनि साझा गरेका छन्। उनले ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटनको क्रममा सरकारको तर्फबाट ज्येष्ठ नागरिकहरूको हकहित र अधिकारको संरक्षणमा थप कदम चालिने बताउँदै यस प्रकारका सेवा केन्द्रहरूको सञ्चालनमा सरकारको सहयोग र प्रतिबद्धता रहेको पनि बताए।

समारोहमा, स्वीट्जरल्याण्डका एहमान स्टिफटङको रु पाँच करोडको आर्थिक सहयोगमा बनेको दिवा सेवा केन्द्र भवन आमास्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो। यस भवनको निर्माणमा स्थानीय कर्णबहादुर गुरुङले आफ्नो स्वर्गीय माता-पिता मोहन र नाना को स्मृतिमा चार रोपनी जग्गा दान गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*