मकवानपुरगढी ९ ए साइड फुटबल फाइनलमा वडा ५ र २ भिड्दै
मकवानपुरगढी । धादिङ मिनी रङ्गशालामा चलिरहेको मकवानपुरगढी गाउँपालिका ९ ए साइड प्रथम रनिङ सिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आज (पुस २ गते) फाइनल खेल हुँदैछ। उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ, जसमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा र गाउँपालिकाको प्रायोजनमा सम्पन्न भइरहेको हो। यस खेलको समन्वय श्री नब जागृत क्लब मकवानपुरगढी-५ द्वारा गरिएकाे छ।
सोमबार भएको सेमिफाइनलमा मकवानपुरगढि गाउँपालिका वडा नम्बर २ ले वडा नम्बर ३ लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। त्यसैगरी, वडा नम्बर ५ ले वडा नम्बर ७ लाई १-० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
गत मङ्सिर २७ गतेदेखि सुरु भएको यस प्रतियोगितामा आठ वटा टिमहरूले प्रतिस्पर्धा गरेका थिए। फाइनल विजेताले ८० हजार नगद, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल र पुरस्कार मेडल वितरणसँगै आज कार्यक्रमको समापन हुने प्रतियोगिताका कार्यक्रम संयोजक रामराजा महर्जनले बताए ।