प्रदेश प्रमुख देवकोटाको उधौली पूर्णिमा, धान्य पूर्णिमा, यःमरि पुन्ही र ज्यापू दिवसको अवसरमा शुभकामना
मकवानपुर– बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उधौली पूर्णिमा, धान्य पूर्णिमा, यःमरि पुन्ही र ज्यापू दिवसको अवसरमा प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ।
प्रदेश प्रमुख देवकोटाले प्रकृतिका पुजारी किराँत समुदायको पितृ र अन्नदाता धर्तीमाताको पूजा र नाचगान तथा आफन्त भेटघाटको महत्त्वलाई सम्मान गर्दै उधौली पर्वको विशेषता वर्णन गर्नुभयो। उहाँका अनुसार, यो पर्व मानिस र पशुपंछीले लेकबाट तल अर्थात् उधो झर्ने परिपाटीमा आधारित छ।
यसैगरी, प्रदेश प्रमुख देवकोटाले नयाँ धानबाली भित्र्याएपछि खुशी मनाउने परम्परालाई उल्लेख गर्दै धान्यपूर्णिमाको महत्त्व र यसको अवसरमा धानलाई लक्ष्मीको रूपमा पूजा गर्ने र अन्नको महत्त्वलाई जोड दिनुभयो।
नेवार समुदायको यःमरि पुन्ही पर्वको बारेमा कुरा गर्दै, प्रदेश प्रमुखले उपत्यका र अन्य स्थानहरूमा रहेका नेवार समुदायको विशेष परिकार यःमरि खाएर रमाइलोसाथ यो पर्व मनाउने परंपरालाई सराहना गर्नुभयो।
अन्तिममा, प्रदेश प्रमुख देवकोटाले कला र संस्कृतिका धनी नेवार समुदायको ज्यापू दिवसको महत्त्वलाई ध्यानमा राख्दै यसको संरक्षण र सम्वर्धनमा सबैको योगदानको आह्वान गर्नुभयो। उहाँको विज्ञप्तिमा भनिएको छ, “चाडपर्व र परम्पराहरू अमुल्य निधि भएका छन् र यिनको संरक्षण गर्नुपर्ने आवश्यकता छ।”
विज्ञप्तिमा थप भनिएको छ, “हाम्रो सामाजिक सद्भाव, मेलमिलाप तथा गौरवपूर्ण मौलिक संस्कार र परम्परा सुखी जीवनका आधार हुन्।”