प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा ८ औं वार्षिकोत्सवको अवसरमा फेवा तालमा लाइफ ज्याकेट वितरण

निराज रानाभाट
२०८१ मंसिर २९, शनिबार ०८:५५

कास्की । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ८ औं वार्षिकोत्सवको अवसर पारेर कास्कीको फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । आज फेवा ताल परिसरमा एक भब्य कार्यक्रम गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ८ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो । लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले संयुक्त रुपमा फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीलाई लाइफ ज्याकेट हस्तान्तरण गरेका हुन् । त्यस्तै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले देशकै पर्यटकीय नगरी पोखराको मुटु एवं मुख्य आकर्षण फेवातालमा डुंङ्गामा सवार गर्दा लगाइने लाइफ ज्याकेटलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दै हामी सरकारले गर्नु पर्ने काम यस्ता संस्थाबाट सही ठाउँमा सही निर्णय गरी गर्नु आफैँमा सरहानिय कार्य भएको बताए ।

यसैगरी, कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले समाजलाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा कम्पनीले सहभागिता जनाउँदै आएको र यो पनि विगतको निरन्तरता भएको बताए । ‘लाइफ इन्स्योरेन्स भनेकै मानिसको जीवनको आर्थिक जोखिम बहन गर्नु हो । अनि लाइफ ज्याकेटको काम पनि मानिसको जीवनको रक्षा गर्नु नै हो । त्यसैले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स जीवनका यस्ता ढुक ढुक हुने पलहरुलाई ढुक्क बनाउन सधै तत्पर रहने छ’, प्रसाईंले भने । त्यसैगरी, कार्यक्रममा फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले फेवातालमा प्रयोग भइरहेका लाइफ ज्याकेटको अवस्था जिर्ण हुँदै गएको सन्दर्भमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले हाम्रो एकै बचनलाई स्वीकार गरी यो लेवलको सहयोग गर्नु आफैँमा गर्वको विषय भएको बताए । गिरीले फेवा तालमा डुंङ्गा सवारमा प्रयोग हुने लाइफ ज्याकेटले मानिसको जीवन रक्षामा ठूलो महत्व राख्ने र भविष्यमा हुनसक्ने कुनै पनि दुर्घटनालाई न्यूनिकरण गर्ने जिकिर गरे । यसलाई मध्यनजर गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गुणस्तरिय लाइफ ज्याकेट प्रदान गरेकोमा गिरीले धन्यवाद व्यक्त गरेका छन् ।

त्यस्तै, उक्त कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले उपस्थित सबैमा स्वागत मन्तब्य व्यक्त गरेका थिए । लामिछानेले लाइफ ज्याकेट जस्तो मानिसको जीउज्यानसँग प्रत्यक्ष जोडिने कुरामा कम्पनीले आयोजना गरेको लाइफ ज्याकेट हस्तान्तरण कार्यक्रममा उपस्थित हुन भई कार्यक्रमको शोभा बढाइ दिनु भएकोमा धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा कास्की जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहाडी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब महा – प्रबन्धक सोन बहादुर मगर, वित्त विभाग प्रमुख लेखनाथ गौतम, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे, अन्य कर्मचारीहरु, अभिकर्ताहरुको साथै सर्वसाधारणहरुको उपस्थितिमा भएको कार्यक्रम संचालन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका क्षेत्रीय प्रमुख पुष्कर भट्टराईले गरेका थिए । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले समाजसँग प्रत्यक्ष जोडिएर सामाजिक कार्यमा निरन्तर साथ र सहयोग गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*