नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको मतदान सम्पन्न, १०७ जनाले गरे मतदान
हेटौँडा, आज शुक्रबार हेटौँडामा नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम अन्तर्गत मतदान सम्पन्न भएको छ। ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नका लागि यस निर्वाचनमा मकवानपुरका महासंघका १ सय १७ साधारण सदस्य मध्य १०७ जनाले मतदान गरेका छन्। निर्वाचन समितिले मतदानको समय बिहान १० बजेदेखि ४ बजेसम्म तय गरेको थियो। मतदान र चुनावी प्रक्रिया हेटौँडा-५ स्थित रिगल हेटौँडा रिसोर्टमा सम्पन्न भएको हो।
यस वर्षका चुनावमा अध्यक्ष पदमा प्रमुख चार जना उम्मेदवार रहेका छन् –बालकृष्ण अधिकारी, अञ्जली थापा,पोष्टराज अधिकारी र सुरेश श्रेष्ठ अध्यक्ष पदका उम्मेदवारहरूका बीचमा प्रतिस्पर्धा तीव्र भएको छ, जहाँ केही उम्मेदवारहरूले आफ्ना पक्षमा समर्थन जुटाएका छन्।
अध्यक्ष पदका उम्मेदवार प्रमुख उम्मेदवार बालकृष्ण अधिकारी कान्तिपुर टेलिभिजनका संवाददाता र प्रेस चौतारी मकवानपुरका अध्यक्ष समेत रहेका छन् उनी प्रेस युनियनको समर्थनमा उम्मेदवार बनेका हुन। अञ्जली थापा प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष रहेकी छिन् र समाजवादी प्रेस संगठनसहितका विभिन्न समूहहरूको समर्थनमा उम्मेदवारको रूपमा प्रस्तुत भएकी छन्। सुरेश श्रेष्ठ, स्वतन्त्र उम्मेदवारको रूपमा उत्रिएका छन्। पोष्टराज अधिकारी पनि स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा छन्। सुरेश श्रेष्ठ समृद्ध समाज दैनिकका सम्पादक र रेडियो निकासका स्टेशन म्यानेजर रहेका छन् भने पोष्टराज अधिकारी नयाँ पत्रिकाका हेटौँडाका संवाददाता हुन् ।
साथै, उपाध्यक्ष, सचिव र कोषाध्यक्षका लागि पनि उत्साहजनक प्रतिस्पर्धा देखिएको छ। खुला उपाध्यक्षमा गणेश अधिकारी र ध्रुब अधिकारी उम्मेदवार छन् भने महिला उपाध्यक्षमा प्रतिक्षा न्यौपाने र भावना रिजालको उम्मेदवारी परेको छ। सचिवमा केशव सुवेदी र इन्द्रप्रसाद बञ्जाराका बीचमा प्रतिस्पर्धा हुनेछ। कोषाध्यक्ष पदका लागि प्रदीप अधिकारी र यमप्रसाद पौडेल उम्मेदवार रहेका छन्।
यस वर्षको चुनावमा खुला सदस्यका लागि १२ जना उम्मेदवार छन्। केन्द्रीय परिषद् सदस्यका लागि कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन विडारी उम्मेदवार बनेका छन्।
निर्वाचनले पत्रकार महासंघको नेतृत्वमा नयाँ उर्जा र दिशा ल्याउने अपेक्षा गरिएको छ। आजको मतदानपछि नयाँ नेतृत्वको चयनले मकवानपुरे पत्रकारिताको भविष्य र महासंघका गतिविधिहरूमा महत्वपूर्ण प्रभाव पार्नेछ। मतगणना आजै साँझ ५ बजेबाट सुरु हुँदैछ।