संसारमा सबैभन्दा बढी बलि चढ्ने मेलाको रूपमा प्रसिद्ध : गढीमाई मेला

अशोक बजगाँई
२०८१ मंसिर २५, मंगलवार १६:३९

कलैया । बारा जिल्लाको बरियारपुरमा आयोजना भइरहेको गढीमाई मेला १ गतेदेखि भव्य रूपमा चलिरहेको छ। यो पाँच वर्षमा एकपटक लाग्ने मेला नेपाल र भारतका लाखौँ श्रद्धालुहरूको आस्था र भक्ति केन्द्र बनिसकेको छ। गढीमाई मन्दिर, जसलाई तुलजा भवानीको रूपमा पूजा गरिन्छ, विशेष गरी बलि दिने परम्पराका कारण चर्चामा रहन्छ।

गढीमाई मन्दिरको विशेषता भनेको यहाँ प्रत्येक पञ्चबलिको अवसरमा हजारौँ जनावरको बलि अर्पित गर्ने परम्परा हो। मन्दिरको बलि दिने विधि तान्त्रिक पूजाका माध्यमबाट पूर्ण हुन्छ, जहाँ राँगा, बोका, मुसा, परेवा र खरायो जस्ता जनावर देवीलाई अर्पित गरिन्छ। मेलामा पशुबलिको आयोजना र धार्मिक अनुष्ठानले यसलाई अनौठो बनाउँछ, आफूले मागेको वरदान पूरा भएपछि यो धार्मिक अनुष्ठानमा सहभागी हुन आएको श्रद्धालुहरू बताउँछन् ।

गढीमाई मन्दिरको ऐतिहासिक महत्त्व पनि खास छ। स्थानीय विश्वास अनुसार, हजारौँ वर्ष पहिले हत्या कसुरमा जेल सजाय भोगिरहेका एक व्यक्तिको सपनामा देवीले दर्शन दिएकी थिइन्। मकवानपुरगढीकी तुलजा भवानी अर्थात् गढीमाईले सपनामा आफूलाई आफ्नो गाउँमा लैजान भनेकी थिइन्। यसो गरेमा जेलजीवनबाट मुक्त हुनेसमेत उनले बताएकी लोकोक्ति छ।  अहिले, मन्दिरको पूजा र दर्शनको दायित्व भगवानदास चौधरीका १० औं पुस्ताका पुजारीले निभाइरहेका छन्।

मेलामा विभिन्न प्रकारका धार्मिक कार्यक्रम र सांस्कृतिक गतिविधिहरूको आयोजना भइरहेको छ। विशेष पूजा मंसिर २३ देखि २५ गतेसम्म हुन्छ। मेला व्यवस्थापन समितिका अनुसार यो वर्ष मेला एक हजार बिघामा फैलिएको छ। यहाँ स्टलहरू, मनोरञ्जनका साधन, पार्किङ सुविधा र सातै प्रदेशका कृषिजन्य वस्तुहरूको प्रदर्शन भइरहेको छ।

गढीमाई मेला धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले महत्त्वपूर्ण स्थान बनिसकेको छ। यहाँको पञ्चबलि परम्पराले यो मन्दिरलाई संसारमा सबैभन्दा बढी बलि चढ्ने मन्दिरको रूपमा प्रसिद्ध बनाएको छ। यस मेलाले धार्मिक आस्थाको परिपुष्टिमात्र नगरी स्थानीय संस्कृति र परम्परा संरक्षणमा पनि योगदान पुर्याइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*