हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४८३ जनाले पाए लाभ
हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा हेटौंडा जेसीज र टोल विकास संस्था वडा समन्वय समितिले आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४८३ जनाले स्वास्थ्य परीक्षण सेवाको लाभ उठाएका छन्। शिविरमा ४०४ जनाले विभिन्न स्वास्थ्य परीक्षण गराए, जसमा विशेष ध्यान आँखा परीक्षणमा दिइएको थियो।
हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठका अनुसार, आँखा परीक्षणमा २७ जनामा मोतिबिन्दु देखिएको पुष्टि भएको छ, र उनीहरूलाई निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ। यसैगरी, ७९ जनाले पाठेघर सम्बन्धी परीक्षण गराएका थिए, जसमा केही महिलामा यौनजन्य समस्याहरू पाइएको छ। यस्ता महिलाहरूलाई थप उपचारको लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको छ।
शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघले प्राविधिक सहयोग प्रदान गरेका थिए। शिविरको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा नं। ३ का वडा अध्यक्ष ढलकबहादुर थापाले गरेका थिए। उनले ग्रामीण क्षेत्रमा यस्ता स्वास्थ्य सेवाहरूको आयोजना अत्यन्तै महत्वपूर्ण रहेको र यसले स्थानीय जनताको स्वास्थ्य सन्देश पुर्याउने बताउनुभयो।
कार्यक्रममा टोल विकास समितिका अध्यक्ष रोशन गोलेले स्वास्थ्य सेवाका यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको र भविष्यमा पनि यस्ता शिविरहरू आयोजना गर्ने आवश्यकता रहेको विचार व्यक्त गरेका छन्।