चुनावी मैदानमा को–को छन् ?

संवाददाता
२०८१ मंसिर १६, आईतवार १२:१३

हेटौंडा । अाज भईरहेकाे स्थानीय तहकाे उपनिर्वाचनमा १२ जनाले उम्मेदवारी दिएका छन् । मतदानमा हेटौंडा १२ का  ८०५३ जना मतदाताले मतदान गर्दै छन् ।

मतदानकाे लागि प्रतिभा माध्यमिक विद्यालय सिग्रनीमा पाँचवटा मतदान केन्द्र निधारण गरिएकाे छ । भने उक्त स्थानबाट पुरुष २१२ महिला २३१५ अन्य १ गरेर जम्मा ४४२८ मतदाता रहेका छन्।त्यस्तै विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा मतदान केन्द्र निधारण गरिएको छ । साथै पुरुष १७६६ महिला १८९९ गरि जम्मा ३६२५ जना मतदाता रहेछन्। उक्त वडामा जम्मा मतदाता ८०५३ जना रहेका छन् ।

गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि ९ वटा राजनीतिक दलबाट ९ जना र ३ जना स्वतन्त्र उम्मेदवार मैदानमा उत्तिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रेमबहादुर भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आशावीर बल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट बलराम बल उम्मेदवार छन् । छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार र अर्जुन घलान स्वतन्त्र उम्मेदवार हुन् ।

गत निर्वाचनमा पनि उम्मेदवार रहेका कांग्रेसका तिवारी र एमालेका नगरकोटी यस पटक पनि चुनावी मैदानमा उत्तिएका छन् । तेस्रो पटक चुनाव उठेका तिवारीले घलानसँगै ०७४ र ०७९ को निर्वाचनमा पराजित भएका थिए । नगरकोटी गत निर्वाचनमा तेस्रो भएका थिए ।

५ सदस्यीय वडामा माओवादी केन्द्रबाट ललित घलानले वडा अध्यक्ष जित्दा ४ जना सदस्य नेकपा एमालेबाट विजयी भएका थिए ।

गत निर्वाचनमा घलानले एक हजार ३७१ मत ल्याएर विजयी भएका थिए । तिवारीले एक हजार ३४० मत ल्याउँदा एमालेका नगरकोटीले एक हजार ३२५ मत पाएका थिए । उपनिर्वाचनबाट माओवादी केन्द्रलाई गुमेको वडा फर्काउने चुनौती छ भने एमाले र कांग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*