मकवानपुर हेटौंडा १२ मा उपनिर्वाचन राजनीतिक दलहरूको कडा प्रतिस्पर्धा
हेटौंडा – आगामी मंसिर १६ गते हुने उपनिर्वाचनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१२ मा राजनीति माहोल तातेको छ । यस उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धा यस क्षेत्रका प्रमुख राजनीतिक दलहरू बीचमा कडा प्रतिस्पर्धामा परिणत भएको छ।
२०७९ सालको स्थानीय निर्काचनमा हेटौंडा-१२ को वडाध्यक्ष पदमा माओवादी केन्द्रका ललितबहादुर घलान विजयी भएका थिए, तर उनी हाल मकवानपुर जिल्ला समन्वय समिति प्रमुख बनेकाले यो पद रिक्त भएको हो। अब, उक्त पदलाई पुनः कब्जा गर्नका लागि तीन प्रमुख दल — नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र — बीचमा तीव्र प्रतिस्पर्धा देखिन थालेको छ।
पुराना उम्मेदवार र नयाँ चुनौती
नेपाली कांग्रेस र नेकपा एमालेले आगामी उपचुनावमा आफ्ना पुराना उम्मेदवारलाई दोश्रो पटक अवसर दिने निर्णय गरेका छन्। एमालेले राजेश नगरकोटीलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले अर्जुन तिवारीलाई टिकट दिएको छ। दुवै उम्मेदवारलाई २०७९ को स्थानीय निर्वाचनमा पराजय भोग्न परेको थियो, र अब उनीहरू नयाँ चुनौतीको सामना गर्न तयार छन् जसकालागि नेकपा एमाले र नेपाली कांग्रेस तिब्र रुपमा प्रचार प्रसारमा लागिरहेको छ ।
अर्कोतर्फ, माओवादी केन्द्रले युवा नेता रविन प्रधानलाई वडाध्यक्षका उम्मेदवारको रूपमा अघि सारेको छ। माओवादी केन्द्रले यस क्षेत्रको आफ्नो परम्परागत समर्थनको आधारमा वडाध्यक्ष पद आफ्नो पोल्टामा राख्ने दाबी गरेको छ। यसका लागि पार्टीले लामो समयदेखि चुनावी अभियान सञ्चालन गर्दै आएको छ, जसमा पार्टीका नेता र कार्यकर्ताले सक्रिय भूमिका खेलेका छन्।
कडा प्रतिस्पर्धा र स्थानीय दलको भूमिका
हेटौंडा-१२ को उपचुनाव स्थानीय तहका प्रमुख दलहरूको प्रतिष्ठाका लागि महत्वपूर्ण बनिसकेको छ। खासगरी माओवादी केन्द्रका लागि यो उपचुनाव एक प्रकारको प्रतिष्ठा र साखको मुद्दा बनिसकेको छ। २०७४ र २०७९ मा माओवादी उम्मेदवार घलानले यस वडामा सफलता प्राप्त गरेपछि माओवादी केन्द्रलाई यो क्षेत्र जोगाउन दबाव छ। यसकारण माओवादी पार्टीले झण्डै तीन महिनादेखि चुनावी अभियानलाई तीव्र गति दिइरहेको छ।
दास्रो तर्फ, नेपाली कांग्रेस र नेकपा एमालेले पनि कुनै कसर बाँकी राखेका छैनन्। कांग्रेसको स्थानिय तहमा सशक्त उपस्थिति कायम राख्नका लागि अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ, जबकि एमालेले पनि राजेश नगरकोटीलाई उम्मेदवार बनाउँदै वडाध्यक्ष पदमा विजय प्राप्त गर्ने दाबी गरेका छन्।
मंसिर १६ मा हुने उपनिर्वाचन
मंसिर १६ मा हुने उपनिर्वाचन देशभरिका विभिन्न स्थानमा ४४ रिक्त स्थानका लागि मतदान हुँदैछ। बागमती प्रदेशमा यस निर्वाचनअन्तर्गत ७ स्थानमा मतदान हुनेछ, जसमा हेटौंडा(१२ वडाध्यक्ष पनि सामेल छ। अन्य स्थानमा विभिन्न नगरपालिकाका प्रमुख र गाउँपालिका उपाध्यक्षका पदका लागि पनि चुनावी प्रतिस्पर्धा हुने छ।
हेटौंडा-१२ मा भएको यो उपनिर्बाचन मात्र होइन, बागमती प्रदेशका अन्य स्थानमा पनि पार्टीहरूले आफ्नो वर्चस्व कायम राख्न कडा संघर्ष गर्नेछन्।
यो उपनिर्वाचन हेटौंडा र बागमती प्रदेशका राजनीतिक परिप्रेक्ष्यमा नयाँ मोड ल्याउने र आगामी चुनावी रणनीतिहरूको दिशा तय गर्ने महत्वपूर्ण घडी बन्ने राजनीतिज्ञहरुको आंकलन छ।।