गायिका इन्दिरा गोलेलाई क्यान्सर, उपचारमा सहयोग गर्न आग्रह
ललितपुर । लोक तथा दोहोरी गीतका स्थापित गायिका ललितपुरको कोज्योसोम गाउँपालिका -५, भारदेउकी इन्दिरा गोलेलाई पेटको भागमा प्राणघातक क्यान्सर ( अर्बुद ) रोगका कारण बिरामी परेकी छिन् । गोलेलाई बचाउन नेपाल तामाङ कलाकार संघ, म्हेन्दोलाफोले फाउन्डेसन र तामाङ डाजाङले संयुक्त रूपमा ‘ गायिका इन्दिरा गोले बचाउ अभियान ’ शुरु गरेको छ । नेपालको सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिइएकी गोले विगत २ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित छिन् । आफ्नो आर्थिक स्रोतले भ्याएसम्म उपचार गराउँदै आएकी गोलेको उपचारमा अब ठूलो रकम लाग्ने जनाउँदै नेपाल कलाकर संघले देश तथा विदेशमा रहेका नेपालीहरूमा सहयोग गर्न आग्रह गरेको छ ।
गोले कलाकार संघको उपाध्यक्ष हुन्, भने म्हेन्दोला फाउन्डेशन र तामाङ डाजाङ संयोजन सदस्य हुन् । ५८ वर्षीया गोले हाल ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर सेन्टरमा उपचाररत छिन् । संस्थाले हामी सबैलाई यस अभियानमा सहभागी हुन र गोलेको उपचारमा सहयोग गर्न हार्दिक अपिल गरेका छन् ।
यस्तै, गायिका गोलेको स्वास्थ्य अवस्था बुझ्न नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड ’, नेकपा ( माओवादी केन्द्र ) कै उपाध्यक्ष अग्नी प्रसाद सापकोटा, नेकपा ( माओवादी केन्द्र ) कै केन्द्रीय सदस्य एवं काभ्रेपलान्चोक क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सुर्यमान तामाङ ( दोङ ), कोज्योसोम गाउँपालिका पुर्व अध्यक्ष गोपीलाल सिङ्तानलगायत गएका थिए । वि.सं. २०४५ सालदेखि विविध भाषा र भाकामा गीत गाउँदै आएकी गोलेले हजारौँ गीत गाइसकेकी छिन् ।
गोलेको स्वरमा सजिएका गीतहरू चाँगुनारायण थान, जाइफूलको वासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेला, लगायत गीतहरू सदाबहार चर्चित छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिइसकेकी छिन् ।
सहयोगको लागि बैंक र खाता नम्बर ;
Bank : Global IME Bank, Tripureshwor
A/C Name : Yog Bahadur Tamang / Sujan Kumar Moktan
Account No.: 03407010438452