प्रचण्डलाई थाहामा भव्य स्वागत

संवाददाता
२०८१ कार्तिक २४, शनिबार १४:४६

पूर्व प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी  ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थाहा नगरमा आइपुगेका छन्। उहाँलाई पार्टीका नेता तथा कार्यकर्ताले अत्यन्तै भव्य स्वागत गरेका छन्। चित्लाङ र बज्रबाराही जस्ता स्थानमा स्थानीय जनता र पार्टीका कार्यकर्ताले प्रचण्डलाई भव्य स्वागत गरेका हुन्।

प्रचण्डलाई स्थानीयले सडकको दाँया-बायाँ घडाहरू राखेर र विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरेर उहाँलाई सम्मान दिएका थिए। यस स्वागत कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य र बागमती प्रदेशसभा सदस्य कुमारी मोक्रानसहितका नेताहरू पनि सहभागी भएका थिए।

वाईसिएल नेपाल थाहानगर कमिटीको दोस्रो सम्मेलनको उद्घाटन गर्न प्रचण्ड थाहा नगर आउनु भएको हो। उक्त सम्मेलनको आयोजना पालुङको इन्द्रायणी चौरमा गरिएको छ , जसमा प्रचण्डले प्रमुख सम्बोधन गर्ने छन् । सम्मेलनमा शहीद परिवार र पूर्व जनमुक्ति सेनाको सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ।

आइतबारको दिन, प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम पनि राखेका छन्। पालुङस्थित जेसीज हलमा माओवादी केन्द्र बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले प्रशिक्षण दिने छन्। यस कार्यक्रमको उद्देश्य पार्टीको संगठनात्मक गतिविधिलाई थप मजबुत बनाउनु हो।

कार्यक्रममा उपस्थित अन्य प्रमुख नेताहरूमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटा, बाइसीएलका केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीसहित विभिन्न केन्द्रीय सदस्य र प्रदेशका नेताहरू रहेका छन्।

पार्टीका नेताहरूका अनुसार, प्रचण्डको थाहा नगर भ्रमणलाई विशेष महत्व दिइएको छ, र यसका माध्यमबाट माओवादी केन्द्रको संगठनलाई थप सशक्त र सक्रिय बनाउनका लागि कदम चालिएका छन्।

कार्यक्रम पछि, प्रचण्ड थाहा नगरकै बज्रबाराही स्थित एक होटलमा रात बिताउने छन्। शनिबार रातीको समयमा उनी नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*