महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाउँदै

संवाददाता
२०८१ कार्तिक १५, बिहीबार ०९:४९

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

महाकवि देवकोटाले अंग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गर्नुभयो ।

विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु भएको थियो । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उहाँकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो ।

विसं २००२ मा किनेर २००४ सालमा सर्नुभएको मैतीदेवीस्थित देवकोटाको घरलाई विसं २०७९ असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रूपमा स्थापित गरिएको छ ।

महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको थियो । उहाँले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।

नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत हप्तादेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*