साफ महिला च्याम्पियनशिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाडौ । काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनशिप
फुटबलमा भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विजेता भारतलाई दोस्रो सेमिफाइनलमा नेपालले पेनाल्टी शुटआउटमा ४-२ गोलले हराएको हो ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । भारतका लागि सङ्गीता बस्फोरेले गोल गरिन् ।
खेलको ७१ औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले लगत्तै गोल फर्काए पनि रेफ्रीले त्यसलाई मान्यता नदिएपछि खेल एक घण्टाभन्दा धेरै समयसम्म रोकिएको थियो । त्यसपछि रेफ्री, म्याच कमिस्नर लगायतले छलफल गरेपछि खेल शुरू भएको हो ।
यसअघि खेलको ५० औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाउँदै बाहिरिएपछि पनि खेल केही बेर रोकिएको थियो । अब नेपालले उपाधिका लागि आउँदो बुधवार बङ्गलादेशसँग खेल्नेछ ।