बीपी राजमार्गमा चौबीसै घण्टा गाडी चलाउन मिल्ने
काठमाडौं । बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेँसीसम्म चौबीसै घण्टा गाडी चलाउन मिल्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बीपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबेँसी–बर्खेखोला सडक खण्डमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको थियो । बाढीपहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेँसी–चौकीडाँडा–बर्खेखोला खण्डका विभिन्न ठाउँमा पूर्णरूपमा बगाएको ८ किलोमिटरभन्दा बढी लम्बाइको सडकमा वैकल्पिक ट्रयाक निर्माण गरेर त्यस रुटमा परमिट भएका बस र साना गाडी सञ्चालनमा ल्याइएको थियो ।
राजमार्गको कूल एक सय ६० किलोमिटरमध्ये तेस्रोखण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किलोमिटर र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किलोमिटर गरी ८४ किलोमिटर सडकको विभिन्न ठाउँमा बढी क्षति पुगेको कार्यालयले जनाएको छ ।