सरकार गठनको सय दिन पूरा, नागरिकको निराशा सकेन र्चिन
काठमाडौं ।नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ। नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित असार ३० गते सरकार गठन भएको हो।
सरकार गठनलगत्तै कांग्रेस र एमालेका नेताहरुले अब एक दिन पनि काम नगरी बस्ने छुट नभएको बताएका थिए। तर एक सय दिन हुँदासमेत सरकारले कुनै पनि क्षेत्रमा उत्साह ल्याउन सकेको छैन। दुई ठूला दलबीचको सहमतिसमेत कार्यान्वयनमा गएको छैन।
गत असार १७ गते भएको सातबुँदे सहमति अनुसार सरकारले अर्थतन्त्र सुधार, परराष्ट्र सम्बन्धमा सुधारसँगै नागरिकलाई सेवा प्रवाह र बृहत्तर हितका पक्षमा क्रमिक सुधारका प्रयास गरिरहेको दाबी गरेको छ।
सरकारको एक सय दिन पुग्दै गर्दा विपक्षीले घेराबन्दी थालेका छन्। बिचौलियाको सेवामा तल्लीन हुँदा सरकारले सुशासनदेखि सेवा प्रवाहसम्म चुकेको आरोप विपक्षीको छ। दुई ठूला दल मिलेर गठन भएको बलियो सरकारले देश र जनताका लागि केही राम्रो काम गर्ने जनाताको अपेक्षा थियो। तर, एक सय दिनसम्म सरकारले ठोस र उपलब्धिमूलक काम गर्न नसक्दा आगामी दिन पनि सरकारले यसैगरी बिताइदिने त होइन भन्ने प्रश्न नागरिक तहबाट उठेको छ।