कुनै पार्टी फुटाएर एमालेमा मिलाउने योजना छैन् : प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने आफूहरूको योजना नभएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो विपक्षी दलको ध्यानाकर्षण बुझ्दै उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेशका सम्बन्धमा दलहरूले उठाएका प्रश्नबारे जवाफ दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरूपमा पक्राउ गरिएको स्पष्ट गर्नुभयो । उहाँले कुनै प्रतिशोधको राजनीति नगरेको र कसैसँग दुराभाव नराखेको बताउनु भयो ।
यस्तै प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी पहिरो र डुबानका घटनापछिको राहत र पुनर्स्थापनामा आपसमा मिलेर प्रभावकारीरूपमा काम गर्न सहमति भएको छ । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी हुनुहुन्थ्यो ।