पोखरामा रास्वपा कार्यकर्ताको विरोध प्रदर्शन, निषेधाज्ञा तोडियो
पोखराको सहिदचोकमा गण्डकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय, कास्कीले आज बिहानदेखि पोखरा शहिदचोक र ग्रैहापाटन क्षेत्रका लागि निषेधाज्ञा जारी गरेको थियो।
सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराउने क्रममा कार्यकर्ताले प्रदर्शन गरेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरिरहेको छ।
प्रशासनले सहिदचोकको पूर्वपट्टि वाईचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङचोकसहित विभिन्न स्थानमा पाँच जनाभन्दा बढी भेला भएर कुनै पनि विरोध कार्यक्रम गर्न निषेध गरिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा लागू रहने जानकारी दिएका छन्।
लामिछानेको पक्षमा प्रदर्शन भइरहेको बेला स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडाइ गरेको छ। पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित रकम अपचलनको विषयमा लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार पोखरा लगिएको थियो। हाल उहाँलाई कास्की जिल्ला अदालतमा प्रस्तुत गरिएको छ।
पक्राउ परेका लामिछाने र सहकारीका संस्थापक अध्यक्ष जिबि राई बीचको विवादको अनुसन्धान जिल्ला प्रहरी कार्यालय कास्कीले गरिरहेको छ।