डडेल्धुरामा बस दुर्घटनामा ४ जनाको मृत्यु, १२ जना घाइते
बैतडी । महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। प्रहरीको अनुसार मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका-३ की ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २६ वर्षीया कमला बोहरा, उनका दुईदिने शिशु र २२ वर्षीय सहदेव बोहरा रहेका छन्।
दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेहरूमा पुर्चौंडी नगरपालिका-७ का २४ वर्षीय नवराज साउँद, वडा नं.६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरका २५ वर्षीय दिनेश साउँद, डडेल्धुराका २१ वर्षीय मुकुन्द बोहरा र दार्चुलाका ३४ वर्षीय विमला महता छन्। यसका अतिरिक्त, ६५ वर्षीया धनमती साउँद, ४२ वर्षीय पदम बहादुर बोहरा, २४ वर्षीय बस चालक वीरेन्द्र बोहरा, २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएका छन्।
दुर्घटना डडेल्धुराको अमरगढी नगरपालिका-७ खसरेखानमा राति भएको हो। पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेको बताइएको छ। घाइतेहरूको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।