आजबाट दुर्गा पक्षको समापन हुँदैं,पूर्णिमा व्रत भने भोलि
हेटौंडा । धन धान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहितको दुर्गा पक्ष आजबाट समापन हुँदैछ। सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा महालक्ष्मीको पूजा गरि रातभर जाग्राम बसेर भक्तजनहरूले विषेश आस्था र श्रद्धासाथ मनाइँदैछ। साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने भोलि परेको छ ।
असोज शुक्ल पूर्णिमाका दिन महालक्ष्मीको पूजा गरेर, नवदुर्गाको प्रसादस्वरुप पारिवारिक मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिइने परम्परा पनि आज समापन हुनेछ। आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ । आजको दिन सायङ्कालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन थालिएको हो ।
यस पर्वको मुख्य उद्देश्य महालक्ष्मीलाई स्वागत गरेर आर्थिक र सामाजिक समृद्धिको कामना गरिन्छ। यसरी दुर्गा पक्षको यो विशेष पर्व आज समापन गरिन्छ । माता दुर्गाका तीनवटा रुपमध्येका एउटा रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने असोज शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।