मेची महाकाली राष्ट्रिय उद्धार यात्राको पहिलो दिन झापाबाट १० जनाको उद्धार
हेटौंडा । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्राको पहिलो दिन हिजो झापाबाट १० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकोमा नौ जना पुरुष र एक जना महिला रहेको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकाी दिनु भयो । “यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा“ भन्ने मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको बताउनु भयो ।
यस अभियान अन्तर्गत मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो। उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ।
मानव सेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गर्दै आएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।