राष्ट्रपति रामचन्द्र पौडेलले दाजुबाट विजयादशमीको टीका लगाए
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८१ का अवसरमा आफ्ना दाजुबाट विजयादशमीको टीका लगाउनुभएको छ । ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट टीकाको उत्तम साइत विहान ११ बजेर ३६ मिनेटमा उहाँले दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका जमरा लगाइदिनुभएको छ ।
यसैबीच रामचन्द्र पौडेलले विजयादशमी २०८१ को अवसरमा राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिँदै हुनुहुन्छ । आज दिउँसो साढे ३ बजे देखि बेलुका ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले ३ देखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ । प्रधानमन्त्री, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तिलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनुहुनेछ । निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।