मकवानपुरगढीको धादिङ चौरमा फुटबल प्रतियोगिता सम्पन्न, प्रथम अध्यक्ष हुमागाईंद्वारा युवा खेलाडीहरूको प्रशंसा

संवाददाता
२०८१ आश्विन २३, बुधबार २३:४७

मकवानपुर, २३ असोज – गढी गाउँपालिकाको धादिङ चौरमा आयोजित तीनदिने फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको आयोजना गढी ५ का युवा खेलाडीहरूले गरेका थिए। २१ गतेबाट सुरु भएको खेलको फाइनलमा बुङ्गदल फुटबल क्लबले धादिङ फुटबल क्लबलाई २-१ गोलको अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

प्रतियोगितामा कुल ६ वटा टोलीको सहभागिता रहेको थियो, जसमा धादिङ फुटबल क्लब, बुङ्गदल फुटबल क्लब, ज्यामीरे फुटबल क्लब, सिमलटार फुटबल क्लब ए र बी भालुखोला फुटबल क्लब सामेल थिए। फाइनलमा बुङ्गदल फुटबल क्लबले खसी प्राप्त गर्दा धादिङ फुटबल क्लबले बोको प्राप्त गरेको छ।

प्रतियोगिताको आयोजना १२ गतेको पहिरोमा ज्यान गुमाएका ६ जना प्रशिक्षार्थी खेलाडीको सम्झनामा गरिएको हो। आयोजक युवा खेलाडी मन्दिप खड्काले जानकारी दिए अनुसार, प्रतियोगिता मृत खेलाडीहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

ज्यान गुमाउनेमा साईमन योञ्जन, जो गढी गाउँपालिकाका निवासी थिए । उनीहरूको निधन मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा पहिरोमा परि पुरिएर भएको थियो।

निधन भएकाहरूमा अनुपम घलान (मकवानपुर), आदित्य बलम्पाकी (सर्लाही), प्रियान्स आचार्य (काठमाडौं), साईमन योञ्जन (मकवानपुर), विकल रेग्मी (निजगढ) र दिवस बानियाँ (मकवानपुर) रहेका थिए।

प्रतियोगिताको समापन समारोहमा बोल्दै मकवानपुर गढी गाउँपालिकाका प्रथम अध्यक्ष बिदुर हुमागाईले युवा खेलाडीहरूले आयोजना गरेको खेल प्रशंसा योग्य रहेको बताउनुभयो। उहाँले स्मृति खेलको महत्त्वलाई औंल्याउँदै हरेक वर्ष यसप्रकारका खेलहरू आयोजना गर्ने सुझाव दिनुभयो। यसले मृत खेलाडीहरूको आत्माले शान्ति पाउने र खेलको माध्यमबाट उनीहरूको सम्झना गर्न सकिने विचार व्यक्त गर्नुभयो।

नेकपा एमाले मकवानपुर सचिवालय सदस्य एवं प्रथम मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटी अध्यक्ष एवं मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ का प्रथम अध्यक्ष जितबहादुर घिमिरे, धादिङ टोल विकास समितिको अध्यक्ष रामकुमार खड्का लगायतकाको आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*