अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान

संवाददाता
२०८१ आश्विन २३, बुधबार ०९:५४

काठमाडौं । अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ ।

यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान छ । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न ह्वाइहाउसले अनुमति दिइसकेको छ ।

मौसम प्रतिकूल हुने संकेत पाएपछि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द गरिएको छ । बुधबारका लागि निर्धारित १ हजार ५०० उडानहरु रद्द भएको बीबीसीले जनाएको छ । ह्वाइटहाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि जर्मनी र अंगोलाको पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । राष्ट्रपति बाइडेनले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । यो तुफानका कारण समुद्रमा १० देखि १५ फिट अग्लो छाल उठ्ने अनुमान छ ।

साथै १२७ देखि २५४ मिलिमिटर प्रतिघण्टा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ । यो वर्षाका कारण बाढी आउने चेतावनी जारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*