गढी गाउँपालिकामा कल्भर्टको नाजुक अवस्था: स्थानीय बासिन्दालाई यात्रामा त्रास
मकवानपुरगढी । गत साता ११ र १२ गते आएको भारी बर्षाका कारण बाढी पहिरोले देश भरका विभिन्न स्थानमा ठुलो क्षति पुर्यायो ।
बर्षाका कारण मकवानपुरगढी गाउँपालिकाको सामरी,ज्यामिरे, बुङ्दोल लगायतका खोलामा पनि ठूलो बाढी आयो । गढी गाउँपालिका भित्र पहिरोका कारण केही क्षतिहरू भए,बाढीका कारण देखिने गरेर ठूलो क्षति नभएतापनि विभिन्न पुलका जगहरू खोतालेर दुर्घटनाको उच्च जोखिममा छन् ।
मकवानपुर गढी गाउँपालिकालाई हेटौडा सँग जोड्ने बासुदेव राजमार्गमा दैनिक चार पाँच सयको हाराहारीमा सवारी साधन गुड्छन्। सोही वासुदेव मार्गमा पर्ने गढी गाउँपालिकाको वडा नम्बर ५ लाई भीमफेदी गाउँपालिकाको वडा नं १ सँग जोड्ने बुङ्दल खोलामा रहेको कल्भर्टको जग बाढीले खोतालेर जोखिमपूर्ण अवस्थामा रहेको छ।
दैनिक रूपमा गिटी बालुवा बोकेर हिँड्ने टिफर ट्याक्टर बस लगायतका सवारी साधनहरु चल्ने उक्त कल्भर्ट ११ र १२ गते आएको बाढीका कारण जग खोलिँदा निकै नै जोखिममा रहेको कल्भर्ट छेवैका भीमफेदी १ का बासिन्दा शेरचन जिम्बाले जानकारी दिए। उनले भने “माथिबाट हेर्दा केही पनि देखिँदैन तल खोलाले जग खोलेर पुल कतिखेर लड्ने हो ठेगान छैन समयमै यो निर्माण गर्न नसकिने हो भने ठूलो दुर्घटना निम्तिने निश्चित छ । ”
मकवानपुर गढीको सामरीमा चारवटा क्रसरहरू सञ्चालनमा रहेका छन्। जसमा उत्पादन भएका गिटी बालुवा लिन इन्डियादेखि सयौंको संख्यामा ट्रक र टिफरहरू चल्ने गर्दछन्।
भीमफेदी गाउँपालिका वडा नम्बर १ पुल छेवैका बासिन्दाहरूले पुलको अवस्थाबारे जानकारी गराएपछि हेर्न जाँदा पुलको अवस्था एकदम नाजुक पाइएको मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दाहालले जानकारी दिए।
उनले भने “कल्भर्ट माथिबाट आवतजावत गर्दा कल्भर्ट ठिकठाक देखिन्थ्यो कल्भर्ट छेवैका बासिन्दाहरूले भनेपछि पो कल्बर्टको जग गइसकेको कुरा थाहा पाए हेर्न जाँदा त निकै जोखिम पो रहेछ।”
चाँडोभन्दा चाँडो पुलको पुनर्निर्माण अथवा नयाँ कल्बर्ट बनाउन आवश्यकता रहेको भन्दै,
अन्य क्षेत्रका पुल तथा कलबटहरूमा पनि अवलोकन गर्ने तयारी गरिरहेको वडा अध्यक्ष दाहालले जानकारी दिए।
बाढी पहिरोका कारण खोलामा रहेका कल्भर्ट तथा पुलको जगहरू खोलेको अवस्थामा रहेको हुन सक्ने हुँदा अन्य क्षेत्रहरूमा पनि यसैगरी अवलोकन गरेर थप दुर्घटना निम्तिनबाट बचाउन आवश्यक रहेको स्थानीय बासिन्दाहरूको भनाइ छ।
मकवानपुरगढीका स्थानीय बासिन्दा र प्रतिनिधिहरूले बाढी र पहिरोका कारण उत्पन्न जोखिमको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दैछन्। पुलहरूको अवस्थामा सुधार ल्याउन र सुरक्षित यातायातको सुनिश्चितता गर्न चाँडो कदम चाल्न आवश्यक छ। यस तर्फ स्थानीय प्रशासन र सरकारको ध्यान जान आवश्यक देखिन्छ ।