बाढी र पहिरोले १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति
![](https://creatornepal.com/wp-content/uploads/2024/09/461509448_1038992551571969_8246316124611660493_n.jpg)
काठमाण्डौं । असोज ११ र १२ गतेको बाढी र पहिरोले १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएकाे छ ।
असोज महिनाको दोस्रो हप्ता काठमाण्डौंसहितका विभिन्न जिल्लामा आएको अविरल वर्षासँगै बाढी र पहिरोले ठूलो मात्रामा क्षति पुगेको हाे। सरकारले प्रारम्भिक रूपमा १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ।
प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपद्को परिणामस्वरूप २ सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता, र १ सय ५८ जना घाइते भएको जानकारी दिए। यसबाहेक, उच्च जोखिममा रहेका ४ हजार ३ सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
प्रभावित जिल्ला मध्ये काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाण्डौ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरका साथै २१ वटा जिल्लाले यस विपद्मा विशेष रूपले क्षति भोगेका छन्।
प्रधानमन्त्री ओलीले विपद्को सामना गरिरहेका नागरिकलाई राहत वितरण प्रक्रिया शुरू भइसकेको र उद्धार कार्य दुई दिन भित्र पूरा हुने जानकारी दिए। उनले घाइतेहरूको निःशुल्क उपचार र विपद्पछि फैलनसक्ने रोगको रोकथामका लागि आवश्यक तयारी भइरहेको पनि उल्लेख गरे।
साथै, क्षतिग्रस्त पूर्वाधार जस्तै खानेपानी, सडक, टेलिफोन र बिजुलीको मर्मत कार्य चाँडो शुरू गरिने पनि प्रधानमन्त्री ओलीले बताए। यस घटनाका कारण देशको विकास र समृद्धिमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ। सरकारका तर्फबाट प्रभावित व्यक्तिहरूलाई समयमै सहयोग र राहत उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ।