नेकपा एमाले मकवानपुरद्वारा चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम स्थगन
हेटौंडा । नेकपा एमाले मकवानपुरले असोज ११ र १२ गतेको भारी वर्षाको कारण मुलुकभरको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै चाडपर्वको शुभकामना आदान प्रदान तथा पार्टीका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको जनाएको छ। एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले विज्ञप्ती जारी गरी सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरेको जानकारी दिनुभएको हो ।
विज्ञप्तिमा, मकवानपुरको ईन्द्रसरोवरका बट्सला माविमा एन्फा एकेडेमीका ६ प्रशिक्षार्थी र बागमती गाउँपालिकामा १ व्यक्तिको असामयिक निधनको खबरले पार्टीलाई मर्माहत बनाएको उल्लेख गरिएको छ साथै घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, श्रद्धाञ्जली अर्पण गरिएको छ।
अध्यक्ष पोखरेलले वर्षाका कारण मकवानपुरका सबै १० पालिकामा परेको असरको पनि चर्चा गर्दै, राज्यका सबै निकायहरूलाई एकीकृत सोचमा काम गर्न आग्रह गरेका छन्। उहाँले चाडपर्वको समयमा कृषकहरूलाई आउने समस्याहरूलाई समाधान गर्न ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
यस्तै, आगामी मनसुनको समयमा थप विपद्को सम्भावनालाई मध्यनजर गर्दै, पार्टीका सबै मातहतका कमिटीहरूलाई सक्रिय रहन र राहत कार्यमा जुट्न अपिल गरिएको छ।