बागमती प्रदेशमा विपद राहत वितरणको लागि २ करोड ३० लाख
हेटौंडा । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशले विपदबाट प्रभावित जिल्लाहरूलाई राहत वितरण गर्न २ करोड ३० लाख रुपैयाँको रकम छुठ्याएको छ। मन्त्री सुरजचन्द्र लामिछानेले सोमबारको पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिनुभएको हो।
उहाँले क्षतिको अबस्था (बढि-कम) अनुसार रकम विनियोजन गरिएको बताउनु भएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको हालसम्मको तथ्याकं अनुसार विपद्बबाट बढि क्षति भएको देखिएका जिल्लाहरु काभ्रेपालचोक जिल्लालाई ६० लाख, धादिङलाई ५० लाख, ललितपुरलाई ३० लाख, काठमाण्डौलाई २० लाख र सिन्धुपाल्चोकलाई २० लाख रुपैयाँ प्रदान गरिने छ। साथै, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, र भक्तपुरलाई दशदश लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने निर्णय भएको छ।
मन्त्री लामिछानेले भन्नुभयो ‘प्रदेश विपद् व्यवस्थापन कोषमार्फत स्थानीय विपद् व्यवस्थापन कोषमा आवश्यक सहयोग उपलब्ध गराउने हाम्रो लक्ष्य हो। यसले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल राहत पुग्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।’
साथै,’ प्रदेशका १३ वटा जिल्ला विपद् व्यवस्थापन कोषलाई पाँचपाँचलाखका दरले कुल ६५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरिएको छ। यसबाट खोज, उद्धार, र प्रतिकार्य गतिविधिहरूलाई सहजीकरण गर्न मद्दत हुनेछ।’
विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० को दफा ३ को (ख)बमोजिम खोज, उद्धार तथा प्रतिकार्य सम्बन्धी कार्य गर्नका लागि कार्यविधिको दफा ५ को उपदफा १ बमोजिम बागमती प्रदेशका १३ वटा जिल्ला विपद् व्यवस्थापन कोषमा पाँचपाँच लाखका दरले कुल ६५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको मन्त्री लामिछानेले जानकारी दिनुभयो ।
बैठकले विपद्मा परी ज्यान गुमाएकाहरुको परिवारमा राहतस्वरुप एक लाख रुपैँया दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ।