पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको हेटौंडामा श्रद्धाञ्जली सभा सम्पन्न
हेटौंडा । इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा पहिरोको घटनामा मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइएको छ। यी विद्यार्थीहरू अखिल नेपाल फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीका सदस्य थिए। बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै गर्दा पहिरोमा परेका उनीहरूका नाम अनुपम घलान, साइमन योन्जन, र विकल रेग्मी रहेका छन्। अनुपम हेटौँडा-१२, साइमन मकवानपुरगढी गाउँपालिकाका र विकल बारा निजगढका हुन् ।
मृत्यु भएका विद्यार्थीहरूको शव हेलिकप्टरमार्फत बागमती प्रदेश प्रहरी कार्यालयमा ल्याइयो। घटनापछि जिल्ला खेलकुद विकास समिति मकवानपुरले हुप्रा चउरमा श्रद्धाञ्जली सभा आयोजना गर्यो, जहाँ जनप्रतिनिधि राजनीतिक व्यक्तित्व स्थानीय र खेलकुदका प्रतिनिधिहरूले श्रद्धाञ्जली अर्पित गरे । पहिरोमा परी एन्फाका ६ जना विद्यार्थीको मृत्यु भएको थियो ।