सुचारु भए हेटौडा काठमाडौँ जोड्ने केही सडक
हेटौंडा । हेटौडा काठमाडौँ जोड्ने केही सडकहरू सुचारु भएका छन्। त्रिभुवन लोकपथ सडक खण्ड अन्तर्गत हेटौडा, भैसे, सिमभन्याङ, पालुङ, कुन्छाल, चित्लाङ, चन्द्रागिरी हुँदै थानकोट निस्कने चित्लाङ थानकोट सडक खण्ड सुचारु अवस्थामा रहेको छ। त्यस्तै, त्रिभुवन लोकपथको हेटौडा भैसे सिमभन्याङ पालुङ नौबिसे सडक खण्ड पनि सुचारु भएको छ।
यस्तै,मदन भण्डारी लोकमार्ग धरान चतरा सडक खण्ड र पूर्व पश्चिम लोकमार्ग पनि सुचारु भएका छन्। तर, केही सडक खण्डहरू अझै सुचारु हुन सकेका छैनन् । हेटौडा भैसे भिमफेदी कुलेखानी फाखेल सडकखण्ड मकवानपुर इन्द्रस्वरोवर गाउँपालिकामा अबरुद्ध छ। सिमखोला क्षेत्रमा अबिरल वर्षाले बाटो पूर्ण रुपमा भत्केको र पुलमा समेत क्षति पुगेको छ।
कुलेखानी सिस्नेरी छैमले सडकखण्डमा पनि पहिरोको कारण बाटो अवरुद्ध नै छ। यसैगरी, कान्तीलोकपथ सडकखण्डको मकवानपुर भिमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित बागमती खोलाको पुलको कटानले गर्दा पूर्ण रुपमा अवरोध छ। साथै, कुलेखानी मार्खु सडकखण्डमा पनि वर्षाका कारण पहिरोले बाटो अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।