पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ जनाको शव फेला
हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा पहिरोमा पुरिएका ६ जना कै शव फेला परेको छ। यस घटनाले सम्पूर्ण देशलाई शोकमा डुबाएको छ।
निधन भएकाहरुमा अनुपम घलान मकवानपुर ,आदित्य बलम्पाकी सर्लाही, प्रियान्स आचार्य काठमाडौं, साईमन योन्जन मकवानपुर, विकल रेग्मी निजगढ र दिवस बानियाँ मकवानपुर रहेका छन् । यस घटनामा अनुपम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानका छोरा हुन्।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालका अनुसार, कुलेखानी जलबिद्युत आयोजनाको जलाशय भरिएपछि स्कूलको छात्रावासबाट विद्यार्थीलाई सुरक्षित स्थानमा लैजाने क्रममा पहिरो खस्दा उनीहरु पुरिएका हुन्।
मृतकका परिवारलाई तत्काल राहत र समर्थन प्रदान गर्नका लागि स्थानीय प्रशासनले पहल गरिरहेको छ । साथै, घटनामा सुरक्षित रहेका ३४ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजान थालिएको छ ।