मकवानपुरगढीको सामरी खोलामा पानीको बहाब अत्याधिक बढ्यो , तटिय क्षेत्र उच्च जोखिममा
मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा पानीको मात्रा अत्यधिक वृद्धि भएको छ। स्थानीय जानकारहरूका अनुसार, यो वर्षको बाढी २०६१ सालको बाढी पछिको ठुलो मानिएको छ, जसले खोला आसपासका बासिन्दालाई चिन्तित बनाएको छ।
सामरी क्षेत्रका डुम्रेकुना, भालुखोला, धादिङ, सिमल्टार र बुग्दोल जस्ता स्थानहरूमा बाढीको जोखिम बढ्दै गएको छ। विशेषगरी, धादिङ र डुम्रेकुना क्षेत्रलाई उच्च जोखिममा रहेको स्थानीय बासिन्दाले जानकारी गराएका छन्।
लगातारको भारी वर्षासँगै पानीको प्रवाहले खोला बस्तीमा पस्न सक्ने जोखिम पनि बढेको छ। स्थानीय प्रशासन र बासिन्दाले यस जोखिमलाई ध्यानमा राखेर रातको समयमा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढीका कारण कुनै पनि अप्रिय घटनाबाट बच्नका लागि बासिन्दालाई सजग रहन र आवश्यक तयारी गर्न सुझाव दिइएको छ।
सामरी खोलाको तटीय क्षेत्रका बासिन्दाले पानीको स्तरमा आएको वृद्धिलाई गम्भीरतासाथ लिएका छन् । २०६१ सालको बाढीले यस क्षेत्रमा ठुलो क्षति धेरै पुर्याएको थियो, जसले गर्दा अहिलेको अवस्था प्रति स्थानीय बासिन्दा चिन्तित छन् ।
स्थानीय प्रशासनले आवश्यक सजगता अपनाउन र बाढीको स्थिति नियमित रूपमा अनुगमन गरिराखेको छ। यसका साथै, स्थानीय जनप्रतिनिधि र पुर्व जनप्रतिनिधि तथा नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटी अध्यक्ष जित बहादुर घिमिरेको अगुवाईमा स्थानीयहरुले खोला क्षेत्र अनुगमन गरिराखेका छन् र सूचनाहरु प्रवाह गरि राखेका छन् ।