काठमाडौं – हेटौंडालाई जोड्ने मुख्य दुई सडक पहिरोका कारण अवरुद्ध

संवाददाता
२०८१ आश्विन ११, शुक्रबार १२:०८

काठमाडौं – हेटौंडालाई जोड्ने मुख्य दुई सडक पहिरोका कारण अवरुद्ध भएका छन्। निरन्तर वर्षाका कारण सडक माथीबाट आएको पहिरोले बकैया-१२, घट्टेपाखा स्थित कान्तीलोकपथ र इन्द्रसरोवर-२, सुकौरा स्थित भिमफेदी कुलेखानी फाखेल काठमाडौं खण्डलाई प्रभावित गरेको हो।

बिहीबारदेखि अवरुद्ध रहेको कान्तीलोकपथको स्थिति यथावत रहेको छ। सडक विभाग र फास्ट ट्र्याकसँग समन्वय गरेर पहिरो हटाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यस सडकमा पहिरोले यातायातलाई कठिनाइमा पार्दै यात्रुहरूलाई लामो समय पर्खिन बाध्य बनाएको छ।

अर्को सडक, भिमफेदी कुलेखानी फाखेल काठमाडौं, शुक्रबार (आज) बिहानदेखि अवरुद्ध भएको छ। स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गर्दै उक्त सडक खोल्नका लागि पहल भइरहेको प्रहरीले जनाएको छ। यो सडकको अवरोधले अत्यावश्यक कामले आवतजावत गर्ने यात्रुरूलाई ठुलो असर पारेको छ, जसले गर्दा उनीहरूले वैकल्पिक मार्गहरूमा जानु परेको छ । वैकल्पिक मार्गहरू लामो दुरीको भएको कारण यात्रामा धेरै समय खर्चिनु परेको यात्रुहरूको गुनासो छ।

स्थानीय प्रशासनले पहिरोको स्थिति र अवरोध हटाउने प्रक्रिया चाँडो भन्दा चाँडो पूरा गर्नको लागि आवश्यक कदम उठाइरहेको जनाएको छ । “यात्रुहरूले यी दुई सडक खण्डको प्रयोग गरेर यात्रा गर्दा ३ देखि ४ घण्टामा काठमाडौँ -हेटौंडा यात्रा गर्ने सक्थे भने मुग्लिन र पालुङको बाटो भएर यात्रा गर्दा छ सात घण्टाको यात्रा पश्चात मात्र हेटौडा – काठमाडौं आवतजावत गर्न सकिने हुन्छ। यसर्थ काठमाडौँ आवतजावतमा आफूहरूलाई निकै नै कठिनाइ परिरहेको छ ” हेटौडाबाट काठमाडौँ जाँदै गरेका नवराज बजगाईले भने।

वर्षाका कारण सडकमा आएका अवरोधले यातायातलाई मात्र होइन, स्थानीय व्यवसायमा पनि प्रभाव पारेको छ। व्यापारीहरू र स्थानीय नागरिकहरूले पहिरोको कारण बजारमा सामानको आपूर्ति र बिक्रीमा समस्या भोगिरहेका छन्।

प्रविधिक टोलीहरू र सुरक्षा निकायहरूले पहिरोको स्थिति अनुगमन गर्दै छन् र प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सचेत गराइरहेका छन्। सडकको अवरोध हटाउनका लागि चाँडो भन्दा चाँडो काम गरिने प्रहरी र स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीय बासिन्दाहरूलाई सावधानी अपनाउन र अनावश्यक यात्रा नगर्न पनि आग्रह गरेको छ। साथै देशैभरका जनतालाई तीन दिन लगातार भारी वर्षा हुने र बाढी पहिरोको जोखिम रहने हुँदा अति आवश्यक काम बाहेक यात्रा नगर्न आह्वान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*